काठमाडौं, जेठ १६ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त वक्तव्य जारी गर्दै पार्टीभित्र देखिएका चनौतीका बीच कार्यकर्ता तथा समर्थकहरूलाई पार्टी संगठन सुदृढीकरणमा लाग्न आग्रह गरेका छन् ।
पूर्व अध्यक्षहरूले जारी गरेको वक्तव्यमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि देशमा बलियो राष्ट्रवादी तथा प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यसहित २०७७ साल जेठ १५ गते राप्रपाको स्थापना भएको उल्लेख गरिएको छ। मुलुकले भोगिरहेको संकटबाट मुक्ति दिलाउन राजसंस्था, हिन्दूराष्ट्र र राष्ट्रिय एकताको पक्षमा पार्टी निरन्तर प्रतिबद्ध रहेको उनीहरूको भनाइ छ।
वक्तव्यमा पार्टी जीवनमा हार–जित तथा आरोह–अवरोह स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि सिद्धान्तप्रति निष्ठावान रहनु प्रत्येक कार्यकर्ताको कर्तव्य भएको बताइएको छ। गत निर्वाचनमा अपेक्षित सफलता प्राप्त गर्न नसके पनि छोटो अवधिमा पार्टीले उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरिएको छ।
पूर्व अध्यक्षहरूले राप्रपाको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै वर्तमान अवस्थाबाट विचलित नहुन र पार्टी संगठन निर्माणमा सक्रिय रूपमा जुट्न सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आह्वान गरेका छन्।
वक्तव्यमा आगामी जेठ महिनाको अन्तिम साताभित्र केन्द्रीय कार्यसमितिको बैठकबाट महाधिवेशनको मिति तय गरिने जानकारी पनि दिइएको छ। पार्टीभित्र देखिएका समस्या, विकृति र चुनौतीहरूको समाधान महाधिवेशनमार्फत खोजिने विश्वास व्यक्त गर्दै उनीहरूले पार्टी त्याग्ने वा पलायन हुने जस्ता कदम नचाल्न कार्यकर्ताहरूलाई विशेष अनुरोध गरेका छन्।
संयुक्त वक्तव्यमा पूर्व अध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाको हस्ताक्षर रहेको छ।

नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्