टिकटकर तुलसी अधिकारी पक्राउ, बहु-आरोपमा अदालत उपस्थित गराइने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १७, आईतवार ०९:०९

काठमाडौ । सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएकी तुलसी अधिकारीलाई नेपाल प्रहरीले थाइल्यान्डबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार उनलाई शनिबार राति नेपाल ल्याइएको हो।


अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगी सम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा विचाराधीन छ। पक्राउपछि उनलाई थुनछेकको प्रक्रिया अघि बढाउन अदालतमा पेश गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत जारी रेड नोटिसका आधारमा अधिकारीलाई विदेशी भूमिबाट पक्राउ गरिएको हो। सरकारी वकिल कार्यालयले २०८२ चैतमा उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो।


यस प्रकरणमा अधिकारीसहित कुल १० जनालाई प्रतिवादी बनाइएको छ। ललितपुरका एक व्यवसायीले दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।


उजुरीकर्ताले अधिकारीले आफूलाई बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै लामो समयदेखि आर्थिक दबाब सिर्जना गरेको आरोप लगाएका छन्। सोही क्रममा करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान लिएको दाबी पनि व्यवसायीले गरेका छन्।


उनीमाथिका आरोपहरू अदालतबाट अन्तिम रूपमा प्रमाणित भइसकेका छैनन्। मुद्दा न्यायिक प्रक्रियामा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *