प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कांग्रेसको कडा आपत्ति, स्पष्टीकरण माग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १७, आईतवार २१:३७

काठमाडौं, जेठ १७, २ — नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा व्यक्त गरेको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादा विपरीतको भनाइ भएको टिप्पणी गरेको छ।


कांग्रेसका प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्रीले संसद्मा “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै कुनै ऐतिहासिक तथ्य र प्रमाणबिना गरिएको यस्तो टिप्पणीले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र कूटनीतिक विश्वसनीयतामाथि आघात पुगेको जनाएको छ।


विज्ञप्तिमा लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका नेपाली भूभागमाथिको अतिक्रमणको विषयलाई सामान्य प्राविधिक सीमा समस्यासँग तुलना गरेर गरिएको अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडान कमजोर बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको दाबीलाई प्रभावित पार्ने दाबी गरिएको छ।


कांग्रेसले प्रधानमन्त्रीले सीमा समस्याको सन्दर्भमा बेलायतसँग पनि कुरा भइरहेको भनी गरेको दाबीलाई भ्रामक, गैरजिम्मेवार तथा हास्यास्पद भन्दै त्यसको आधार स्पष्ट पार्न माग गरेको छ। साथै, प्रधानमन्त्रीको भनाइ सरकारको आधिकारिक धारणा, राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा वा व्यक्तिगत विचारमध्ये कुन हो भन्नेबारे स्पष्ट पार्न आग्रह गरिएको छ।


विज्ञप्तिमा कांग्रेसले ऐतिहासिक तथ्य, सन्धि र प्रमाणका आधारमा सीमा समस्याको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोज्नुपर्ने आफ्नो पुरानो अडान दोहोर्‍याएको छ। छिमेकी राष्ट्रहरूसँगको आत्मीय र ऐतिहासिक सम्बन्धलाई ध्यानमा राख्दै आपसी समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको छ।


कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै त्यसको घोर भर्त्सना गरेको छ र संसद् तथा आम नेपाली जनतासमक्ष तत्काल स्पष्टीकरण दिन माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *