काठमाडौँ — हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ले प्रधानमन्त्रीले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै त्यसलाई राष्ट्रहितविपरीत भएको जनाएको छ। पार्टीले विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितमा नकारात्मक असर पार्न सक्ने दाबी गरेको हो।
पार्टीका अनुसार, पूर्वनिर्धारित कार्यतालिकाबिना संसद् बैठक बोलाइनु र त्यसलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिको भारत भ्रमण हुनुलाई सामान्य घटनाका रूपमा लिन नसकिने उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिलाई भारतसँग सम्बन्धित संवेदनशील विषयसँग जोडेर प्रश्न उठाइएको छ।
अध्यक्ष साम्पाङद्वारा जारी वक्तव्यमा प्रधानमन्त्रीको भनाइले नेपाल–भारत सीमा विवादका विषयलाई कमजोर बनाउने तथा विशेषगरी लिपुलेक र लिम्पियाधुरा सम्बन्धी नेपाली जनताको चासोलाई ओझेलमा पार्ने जोखिम रहेको उल्लेख गरिएको छ। साथै, यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको आधिकारिक धारणा के हो भन्ने विषयमा अन्योल सिर्जना गर्न सक्ने दाबी गरिएको छ।
विज्ञप्तिमा सरकारले नेपाली सेना को भूमिकालाई प्रभावकारी रूपमा प्रयोग गर्न नसकेको आरोप पनि लगाइएको छ। सीमा सुरक्षाजस्ता महत्वपूर्ण विषयमा पर्याप्त ध्यान नदिएको भन्दै पार्टीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ।
श्रम संस्कृति पार्टीले वर्तमान सरकार सीमा सुरक्षा र राष्ट्रिय सार्वभौमिकताको विषयमा पर्याप्त रूपमा प्रतिबद्ध नभएको निष्कर्ष निकाल्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कडा विरोध र आपत्ति जनाएको छ। पार्टीले राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकार जिम्मेवार र स्पष्ट हुनुपर्ने मागसमेत गरेको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्