डा . भिमलाल तामाङको परोपकारी अभियान : दुर्गम बस्तीका महिला र विद्यार्थीका लागि आशाको किरण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १८, सोमबार १३:१८

नुवाकोट, — समाजसेवी डा. भिमलाल तामाङको पहलमा सञ्चालन गरिएको जि.एफ.एन. परोपकारी परियोजना २०८२/०८३ अन्तर्गत म्यागङ गाउँपालिका–३, देउरालीमा विभिन्न सामाजिक तथा शैक्षिक सहयोग कार्यक्रम सम्पन्न भएको छ।


आइतबार आयाेजित कार्यक्रमअन्तर्गत २० जना विपन्न महिला दिदीबहिनीलाई आयआर्जनको माध्यम बनाउने उद्देश्यले बिउ स्वरूप बाख्रा वितरण गरिएको छ। त्यसैगरी १० जना वृद्ध तथा एकल महिला (विधुवा) लाई आर्थिक सहयोगसहित सम्मान गरिएको छ। गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुका साथै श्री बाद्योपार्जन आधारभूत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई स्कुल ब्याग, लेखन सामग्री तथा खेलकुद सामग्री वितरण गरिएको थियो।


विगतदेखि नै समाजसेवामा सक्रिय डा. भिमलाल तामाङले जिल्लाका दुर्गम तथा पिछडिएका बस्तीहरूमा निरन्तर सहयोग गर्दै आउनुभएको छ। उहाँका अनुसार आर्थिक रूपमा कमजोर महिलाहरूलाई आत्मनिर्भर बनाउने तथा बालबालिकालाई शिक्षातर्फ प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको हो।


स्थानीय महिलाहरूले बाख्रा वितरण कार्यक्रमले आफ्नो आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। यसले विपन्न परिवारका महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुका साथै आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


त्यसैगरी छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरणबाट सामुदायिक विद्यालयका विद्यार्थीहरूमा अध्ययनप्रति उत्साह बढेको स्थानीय शिक्षकहरूले बताएका छन्। छात्रवृत्तिले विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुग्नुका साथै विद्यालय जाने इच्छाशक्ति अझ मजबुत बनेको उनीहरूको भनाइ छ।


कार्यक्रममा प्रमुख अतिथि तथा अन्य अतिथिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यहरू, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम सफल बनाउन समाजसेवी वीरबहादुर तामाङ र पैकुमाया तामाङले पुर्‍याएको योगदानको समेत विशेष प्रशंसा गरिएको छ।


कार्यक्रमको समापनमा डा. भिमलाल तामाङले समाज उत्थानका लागि आगामी दिनमा पनि यस्ता परोपकारी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *