काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकको समयसीमा सकिन लागिरहेका बेला निवर्तमान कार्यबाहक सभापति पुर्ण बहादुर खड्काले फरक सन्देश दिएका छन्। उनले १५औँ महाधिवेशनका लागि २०८२ पुस १० गतेसम्म टुंगिएका तथा त्यसपछि नवीकरण वा नयाँ वितरण भएका क्रियाशील सदस्यतालाई समेत कायम गरी महाधिवेशनमा सहभागी गराउने प्रतिबद्धता जनाएका छन्।
सोमबार जारी विज्ञप्तिमा खड्काले पार्टीको १५औँ महाधिवेशनलाई ‘सम्पूर्ण एकताको महाधिवेशन’ का रूपमा सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। उनले पुस १० गतेसम्म अधिकांश क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम सम्पन्न भइसकेको उल्लेख गरेका छन्।
खड्काले त्यसबेला नवीकरण गर्न छुटेका, नवीकरण गर्न चाहने तथा नयाँ सदस्यता लिन चाहनेहरूलाई पनि समेट्ने गरी उनीहरूको सदस्यताको अधिकार सुनिश्चित गरिने बताएका छन्। उनका अनुसार पुस १० गतेसम्म टुंगिएका र त्यसपछि नवीकरण तथा नयाँ वितरण भएका सबै क्रियाशील सदस्यहरूलाई महाधिवेशनमा सहभागी हुने व्यवस्था मिलाइनेछ।
खड्काको यो अभिव्यक्ति कांग्रेस नेतृत्वले सञ्चालन गरिरहेको क्रियाशील सदस्यता अध्यावधिक अभियानकै बीच आएको हो। अध्यावधिकको समयसीमा सकिन लागेका बेला आएको उनको वक्तव्यलाई पार्टीभित्र चलिरहेको सदस्यता र महाधिवेशनसम्बन्धी बहससँग जोडेर हेरिएको छ।
यद्यपि, पुस १० गतेपछि नवीकरण वा वितरण भएका सदस्यतालाई महाधिवेशन प्रक्रियामा कसरी समावेश गरिने भन्ने विषयमा खड्काले कुनै स्पष्ट कार्यविधि वा आधार भने खुलाएका छैनन्।
उनले स्वदेश तथा विदेशमा रहेका पार्टीका नेता, कार्यकर्ता, क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई १५औँ महाधिवेशनमा सहभागी गराउने प्रतिबद्धता दोहोर्याएका छन्।
खड्काको पछिल्लो अभिव्यक्तिलाई संस्थापन पक्षले अघि बढाइरहेको अध्यावधिक प्रक्रियाप्रति असहमतिको संकेतका रूपमा समेत व्याख्या गरिएको छ। महाधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यता र प्रतिनिधित्वको विषय कांग्रेसभित्र थप राजनीतिक बहसको केन्द्र बन्न सक्ने देखिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्