कांग्रेस नुवाकोटलाई अर्को धक्का : बेलकोटगढीका प्रभावशाली नेता पूर्णप्रसाद गजुरेल कांग्रेस राजनीतिबाट अलगिने निर्णयमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १९, मंगलवार १५:२०

नुवाकोट। नेपाली कांग्रेस नुवाकोटका सक्रिय तथा प्रभावशाली नेता पूर्णप्रसाद गजुरेलले कांग्रेसको सक्रिय राजनीतिबाट अलग भई अब जीवनभर समाजसेवामा समर्पित हुने घोषणा गरेका छन्।


लामो समयदेखि कांग्रेस राजनीतिमा आबद्ध रहँदै आएका गजुरेलले आफू अब कुनै राजनीतिक दल वा गुटको पक्षमा सक्रिय नहुने र बाँकी जीवन सामाजिक सेवामै खर्च गर्ने निर्णय गरेको बताएका छन्। उनले आफूले कमाएको सम्पत्तिको ५० प्रतिशत हिस्सा समेत सामाजिक कार्यमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


गजुरेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, “अब उमेर पनि ५५ वर्ष पुगियो। झुटको खेती गरेर कति बाँच्ने ? नराम्रोलाई पनि राम्रो भनेर बसिरहने अवस्था अब छैन। आफू बाँचुन्जेल समाजका लागि केही सकारात्मक काम गर्ने निर्णय गरेको छु। देश बनाउने पार्टी र नेतृत्वलाई सधैं समर्थन गर्नेछु, तर देश र समाजको हितविपरीत काम गर्नेलाई आवश्यक विरोध पनि गर्नेछु।”


उनले स्थानीय तहको निर्वाचनमा समेत दलभन्दा माथि उठेर योग्य, इमानदार र जनताको हितमा काम गर्न सक्ने व्यक्तिको पक्षमा उभिने बताएका छन्। “मेरो चाहना एउटै हो—बेलकोटगढी राम्रो बनोस्। राम्रो मान्छे र राम्रो विचारलाई सधैं समर्थन रहनेछ,” उनले उल्लेख गरेका छन्।


गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार जगदीश्वर नरसिंह केसी लाई आर्थिक तथा भौतिक रूपमा सहयोग गर्दै चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गरेका गजुरेल पछिल्लो समय पार्टीभित्र आफूले अपेक्षित सहयोग र सम्मान नपाएको भन्दै असन्तुष्ट बनेका थिए। सोही कारणले उनी राजनीतिबाट टाढिने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ।


गजुरेलले पार्टी नेतृत्वसमक्ष आफ्नो क्रियाशील सदस्यता समेत नवीकरण नगर्न आग्रह गरेका छन्। उनले सभापतिलाई सम्बोधन गर्दै भनेका छन्, “सभापतिज्यू, तपाईंको कुनै नजिकको साथी वा कार्यकर्तालाई मेरो क्रियाशील सदस्यता दिनुहोला। मैले अब राजनीति नगर्ने निर्णय गरिसकेको छु। म बाँकी जीवन समाजसेवामा समर्पित रहनेछु। कुनै पार्टी वा राजनीतिक समूहमा आबद्ध भएर काम गर्ने छैन।”


उनको यो निर्णयलाई कांग्रेस नुवाकोटभित्र अर्थपूर्ण रूपमा हेरिएको छ। बेलकोटगढी क्षेत्रमा प्रभावशाली सामाजिक तथा राजनीतिक व्यक्तित्वका रूपमा चिनिने गजुरेलको सक्रिय राजनीतिबाट बहिर्गमनले स्थानीय राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।


राजनीतिक यात्रा भन्दा माथि उठेर समाजसेवाको बाटो रोजेको गजुरेलको घोषणाले बेलकोटगढीसहित नुवाकोटको राजनीतिक तथा सामाजिक क्षेत्रमा चासो र चर्चा बढाएको छ। उनका समर्थकहरूले भने यस निर्णयलाई कांग्रेसमा राम्रो मान्छे लाई स्थान नदिने र पार्टी मा टिक्न नलिने नुवाकोट कांग्रेसका नेता र कार्यकर्ताकाे चरित्रका कारण पछिल्लो समय राम्रो मान्छे राजनीतिबाट बाहिरिनु परेकाे यथार्थ उल्लेख गरेका छन् साथै कांग्रेसमा पछिल्लो समय देखिएकाे अस्वस्थ विवाद पनि राम्रोले दल छाड्ने कारण बन्दै गएकाे दावी गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *