
विदुर । निर्वाचन आयोगले संघीय निर्वाचनका लागि सरकारसँग कात्तिक ३० गतेको मितिलाई प्रस्ताव गरेको छ । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्र र ३३० प्रदेश निर्वाचन क्षेत्रमा एकैपटक अर्थात कात्तिक ३० गते निर्वाचन गर्न सकिनेगरि अनौपचारिक रुपमा प्रस्ताव गरेको छ । अयोगले गरेको प्रस्तावका विषयमा सत्तारुढ दलबीच सामान्य छलफल भएपनि त्यसबारेमा औपचारिक रुपमा भने छलफल नभएको नेताहरुले बताएका छन् ।
आयोगले गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न गरेको उदाहरण दिँदै संघ र प्रदेशको निर्वाचन एकै पटक गर्ने प्रस्ताव गरेको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिनुभएको छ । गत २०७४ सालमा भने दुई चरणमा निर्वाचन गरिएको थियो । तर यसपटक आयोगसँग एकै पटक गर्ने क्षमता भएको भन्दै कात्तिक ३० मा गर्ने प्रस्ताव गरिएको छ ।
आयोगले निर्वाचनका लागि सबै प्रकारका तयारी गरिरहेको पनि जनाएको छ । आयोगले मतदाता नामावली आफ्नो घरबाट नै गर्न सकिने व्यवस्था समेत गरेको छ । विगता जिल्ला निर्वाचन कार्यालय मार्फत नाम दर्ता गराउनुपर्ने र आम नागरिकलाई झण्झट हुने व्यवस्थालाई समेत ध्यान दिएर आयोगले अब घरबाट नै अयोगको सफ्टवेयरमार्फत नाम तर्दा गर्न सकिने व्यवस्था मिलाएको छ । यस्तै विगतमा जस्तै राजधानीमा विभिन्न पेशा व्यवसाय गरेकाहरुले राजधानीबाट आफ्नो गाउँको मतदान केन्द्रका लागि फोटोसहित मतदाता नामाबलीमा नाम लेखाउन सक्ने व्यवस्था गरेको छ ।

आयोगले कात्तिक ३० गते निर्वाचन गर्ने भनेपनि सरकार भने दुई चरणमा गर्ने मनस्थितिमा रहेको सरकारी स्रोतले बताएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भने एकै चरणमा भन्दा दुई चरणमा गर्दा शान्तिपुर्ण रुपमा गर्न सकिने पक्षमा रहेको बुझिएको छ । तर यस विषयमा अबको केही दिनपछि निर्णय हुनसक्ने बताइएको छ ।