विदुर । एमाले नुवाकोटका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा लामो समय नेकपा (एमाले) मा सक्रिय रहेका श्यामराज पाठक उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेशसँगै उनलाई बागमती प्रदेश कमिटीको सचिवको जिम्मेवारी प्रदान गरिएको छ।
उज्यालो नेपाल पार्टीले बुधबार (जेठ २०) सार्वजनिक गरेको नियुक्तिपत्रअनुसार पार्टीको विधान–२०८२ को परिच्छेद ७, दफा २७ अन्तर्गत पाठकलाई प्रदेश सचिवमा नियुक्त गरिएको हो। बागमती प्रदेश अध्यक्ष प्रविणकुमार बलले पाठकको नियुक्ति भएको जानकारी दिएका छन्।
नुवाकोटको ककनी निवासी पाठक एमालेमा करिब ३५ वर्ष सक्रिय रहेर विभिन्न जिम्मेवारी सम्हालिसकेका नेता हुन्। उनी एमाले नुवाकोट क्षेत्र नं. १ (ख) प्रदेश कमिटीका अध्यक्ष समेत रहिसकेका थिए। पछिल्लो समय उक्त पदबाट राजीनामा दिएपछि उनी राजनीतिक रूपमा निष्क्रिय जस्तै अवस्थामा थिए।
एमालेभित्र वैचारिक तथा बौद्धिक नेताका रूपमा परिचित पाठकले ११औँ महाधिवेशनका क्रममा प्रतिनिधि छनोट प्रक्रियामा जिल्ला अध्यक्ष बद्री मैनालीले एकलौटी निर्णय गरेको आरोप लगाउँदै पार्टीप्रति असन्तुष्टि जनाएका थिए। सोही असन्तुष्टिका कारण उनले एमाले परित्याग गरेका थिए।
उज्यालो नेपाल पार्टीले पाठकजस्ता अनुभवी र वैचारिक नेताको आगमनले पार्टी संगठन सुदृढ हुने तथा बागमती प्रदेशमा राजनीतिक प्रभाव विस्तार गर्न थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेको छ। पाठकको नयाँ राजनीतिक यात्रा र प्रदेश सचिवको जिम्मेवारीलाई प्रदेश राजनीतिमा चासोका साथ हेरिएको छ।

नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्