नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै राप्रपाका फणीराज लोहनीले छाडे पार्टी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ २१, बिहीबार १०:४०

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष फणीराज लोहनीले पार्टीसँगको आफ्नो सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छन्। उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।


बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा लोहनीले राप्रपामा बिताएको लामो राजनीतिक यात्रालाई स्मरण गर्दै आफू राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्र र संघीयता खारेजीका मुद्दाप्रति प्रतिबद्ध रहेको बताएका छन्। तर पार्टी नेतृत्वको पछिल्लो कार्यशैली र सैद्धान्तिक दिशाबारे गम्भीर प्रश्न उठाउँदै उनले पार्टी अब सही मार्गमा अघि बढ्न नसक्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।


उनका अनुसार पार्टीभित्र फरक विचार राख्नेलाई स्थान नदिने प्रवृत्ति बढ्दो छ। नेतृत्वले आलोचना वा असहमति व्यक्त गर्नेहरूमाथि कारबाहीको धम्की र दबाब सिर्जना गरेको आरोप उनले लगाएका छन्। यस्तो वातावरणले संगठनभित्र दीर्घकालीन समस्या निम्त्याउने चेतावनी आफूले पहिलेदेखि नै महसुस गरेको उनको भनाइ छ।


निर्वाचनमा पराजयपछि नेतृत्वले जिम्मेवारी स्वीकार गर्नुको सट्टा कार्यकर्तामाथि दोष थोपर्ने र वरिष्ठ नेताहरूको सम्मानसमेत नगरेको आरोप उनले लगाएका छन्। साथै, पार्टीको केन्द्रीय समितिले तय गरेको महाधिवेशनसम्बन्धी निर्णयलाई नेतृत्वले बेवास्ता गरेको विषयलाई पनि उनले असन्तुष्टिको प्रमुख कारणका रूपमा उल्लेख गरेका छन्।


लोहनीले नेतृत्वको निर्णय र व्यवहारले राष्ट्रवादी आन्दोलन कमजोर बनेको दाबी गर्दै आफू व्यक्तिगत रूपमा पनि अन्यायमा परेको बताएका छन्। पार्टीभित्र बसेर निष्क्रिय बन्नुभन्दा आफ्नो अन्तरात्माको निर्णयअनुसार बाहिरिने विकल्प रोजेको उनको भनाइ छ।


राजीनामासँगै उनले पार्टीका पूर्व अध्यक्षहरू, जिल्ला तहका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनप्रति पनि सम्मान प्रकट गर्दै उनले आफ्नो निर्णयलाई व्यक्तिगत द्वन्द्वका रूपमा नबुझ्न आग्रह गरेका छन्।


भविष्यमा राष्ट्रवादी विचारका आधारमा विभिन्न राजनीतिक यात्रामा सहकार्य हुन सक्ने संकेत गर्दै लोहनीले आजदेखि राप्रपासँगको औपचारिक सम्बन्ध समाप्त भएको घोषणा गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *