काठमाडौं । लामो समयदेखि आन्तरिक विवादका कारण करिब १२ वर्षदेखि अधिवेशन हुन नसकेको नेपाली जनसम्पर्क समिति अमेरिकाको नेतृत्वमा नयाँ जिम्मेवारी तोकिएको छ। नेपाली कांग्रेसले समितिको अधिवेशन सम्पन्न गराउने विशेष जिम्मेवारीसहित धनञ्जय नरसिंह केसीलाई संयोजक नियुक्त गरेको हो।
समितिका अध्यक्ष गोरख बहादुर विष्ट कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट उम्मेदवार बनेपछि नेतृत्व रिक्त रहेको अवस्थामा पार्टीले केसीलाई संयोजकको जिम्मेवारी दिएको जनाएको छ। उनको प्रमुख जिम्मेवारी संगठनलाई एकताबद्ध गर्दै निर्धारित समयमै अधिवेशन सम्पन्न गराउनु रहने बताइएको छ।
लामो समयदेखि अधिवेशन हुन नसक्दा संगठनात्मक गतिविधि प्रभावित भइरहेका बेला केसीको नियुक्तिलाई जनसम्पर्क समिति अमेरिकामा नयाँ आशाका रूपमा हेरिएको छ। विभिन्न पक्षबीच समन्वय गरी लोकतान्त्रिक प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गर्ने वातावरण निर्माणमा उनले भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यस निर्णयसँगै नेपाली जनसम्पर्क समिति अमेरिकाको विवाद समाधान र संगठन सुदृढीकरणको प्रक्रिया अघि बढ्ने विश्वास गरिएको छ। पार्टी नेतृत्वले विदेशस्थित नेपाली कांग्रेससम्बद्ध संगठनलाई सक्रिय र व्यवस्थित बनाउन अधिवेशनलाई प्राथमिकतामा राखेको जनाएको छ।
धनञ्जय नरसिंह केसीलाई संयोजकको जिम्मेवारी दिइएकोप्रति विभिन्न नेता तथा कार्यकर्ताले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। साथै, समयमै अधिवेशन सम्पन्न गरी संगठनलाई नयाँ गति दिने अपेक्षा पनि राखिएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्