नुवाकोट, किस्पाङ। नुवाकोटको किस्पाङ गाउँपालिका–४ साल्मे निवासी २७ वर्षीय सिपबहादुर तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा दोस्रो पटक सफलतापूर्वक आरोहण गरेका छन्।
ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा सक्रिय तामाङले पहिलो पटक २०८२ जेठ ५ गते (१९ मे २०२५) सगरमाथाको सफल आरोहण गरेका थिए। पहिलो सफल आरोहणपछि उनलाई किस्पाङ गाउँपालिकासहित विभिन्न संघसंस्था तथा स्थानीय समुदायले सम्मान गरेका थिए।
यस वर्ष पनि उनले आफ्नो साहस, मेहनत र दृढ संकल्पलाई निरन्तरता दिँदै दोस्रो पटक सगरमाथाको सफल आरोहण गर्न सफल भएका हुन्। उनको यो उपलब्धिप्रति नुवाकोटवासीले खुशी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन्।
कम उमेरमै दुई पटक विश्वको सर्वोच्च शिखर चुम्न सफल सिपबहादुर तामाङको यो उपलब्धिले नुवाकोट मात्र नभई समग्र देशकै गौरव बढाएको स्थानीयवासीको भनाइ छ।
ट्रेकिङ व्यवसायसँग आबद्ध तामाङले आफ्नो अनुभव र लगनशीलताका कारण पर्वतारोहण क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएका छन्।
सिपबहादुरको यो ऐतिहासिक सफलताले युवा पुस्तालाई साहस, परिश्रम र लक्ष्यप्रतिको प्रतिबद्धताबाट असम्भवलाई पनि सम्भव बनाउन सकिने प्रेरणा दिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्