काठमाडौं — नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक (नवीकरण) गर्ने समयसीमा थप विस्तार गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बिहीबार बसेको बैठकले सदस्यता नवीकरणको कामलाई सहज बनाउन जेठ २८ गते राति १२ बजेसम्म म्याद कायम गर्ने निर्णय गरेको हो।
सदस्यता व्यवस्थापन समितिका संयोजक तथा महामन्त्री प्रदीप पौडेलका अनुसार विभिन्न जिल्ला तथा पार्टीका अन्य तहबाट समय अपुग भएको गुनासो आएपछि म्याद थप्ने निर्णय गरिएको हो।
समितिले हाल देशभर सदस्यता अद्यावधिक अभियान उत्साहजनक रूपमा अघि बढिरहेको निष्कर्ष निकालेको छ। थप गरिएको अवधिभित्र सबै सम्बन्धित सदस्य र पार्टी संरचनाले सदस्यता नवीकरणको प्रक्रिया अनिवार्य रूपमा पूरा गर्न पार्टी नेतृत्वले आग्रह गरेको छ।
पार्टीले यो समयवृद्धिलाई अन्तिम अवसरका रूपमा लिन आग्रह गर्दै तोकिएको मितिभित्र सम्पूर्ण प्रक्रिया सम्पन्न गर्न सबैलाई सचेत गराएको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्