काठमाडौं,जेठ २२ — १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा वाग्मती प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै लगातार उपाधि आफ्नो कब्जामा राख्न सफल भएको छ।
शुक्रबार सम्पन्न प्रतियोगितामा वाग्मतीले २२ स्वर्ण, २१ रजत र १३ कांस्य पदक जित्दै समग्र च्याम्पियन बन्न सफल भयो। उपाधिको प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशले १९ स्वर्ण, ९ रजत र १४ कांस्य पदकसहित दोस्रो स्थान हासिल गर्यो।
१२ स्वर्ण, १५ रजत तथा १८ कांस्य पदक जितेको लुम्बिनी प्रदेश तेस्रो स्थानमा रह्यो। गण्डकी प्रदेशले ५ स्वर्ण, २ रजत र १८ कांस्य पदकसहित चौथो स्थान प्राप्त गर्यो भने कोसी प्रदेश ४ स्वर्ण, ७ रजत र १७ कांस्य पदकका साथ पाँचौँ बन्यो।
त्यसैगरी मधेस प्रदेश ३ स्वर्ण, ६ रजत र ६ कांस्य पदकसहित छैटौँ तथा कर्णाली प्रदेश २ स्वर्ण, ५ रजत र १२ कांस्य पदकसहित सातौँ स्थानमा रह्यो।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा वाग्मती प्रदेश खेलकुद विकास परिषद् र नेपालय इन्टरनेसनल प्रालिको सह–आयोजनामा सम्पन्न प्रतियोगितामा सातै प्रदेशका ६८६ खेलाडी सहभागी भएका थिए। खेलाडीहरूले दौड तथा फिल्ड खेल, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु विधामा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिका सचिव मीनकुमार शर्माका अनुसार विभिन्न विधाका पदक विजेतालाई करिब १२ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ।
यसैबीच, प्रतियोगिताको १७औँ संस्करण आगामी फागुन १९ देखि २२ गतेसम्म कोसी प्रदेशमा आयोजना हुने तय भएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्