नुवाकोट , जेठ २२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन भोलि जेठ २३ गते आयोजना हुँदैछ। पार्टी संगठन निर्माण तथा वैकल्पिक राजनीतिको मार्गचित्रलाई थप सशक्त बनाउने उद्देश्यका साथ हुन लागेको अधिवेशनमा ४२२ जना प्रतिनिधिको सहभागिता रहने बताइएको छ। अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरूको समेत उपस्थिति रहनेछ।
अधिवेशनको पूर्वसन्ध्यामा रास्वपाका नेता दामोदर नेपालले नुवाकोट जिल्ला सभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। उनले जिल्लामा पार्टीको अभियानलाई थप संगठित, गतिशील र जनमुखी बनाउँदै युवा परिचालन, सुशासन र समग्र विकासको एजेन्डालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसअघि जिल्ला सभापति पदमा रामेश्वर गजुरेल तथा पार्टी सचिवालय सदस्य राजु प्रसाद लामिछानेले उम्मेदवारी घोषणा गरिसकेका छन्। सभापतिका आकांक्षी दामोदर नेपाल, रामेश्वर गजुरेल र राजु प्रसाद लामिछाने तीनै जना बेलकोटगढी नगरपालिकाका हुन्।
दामोदर नेपाल यसअघि विवेकशील साझाबाट रास्वपामा आएका नेता हुन्। उनी विवेकशील साझामा रहँदा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए।
अधिवेशनमार्फत १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिनेछ। नेतृत्व चयनका लागि सहमतिमार्फत टुंगो लगाउने प्रयास जारी रहे पनि सहमति हुन नसके निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिने जनाइएको छ।
रास्वपाले अधिवेशनलाई भव्य र सफल बनाउन सम्पूर्ण जिल्लावासी, पार्टी नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सहभागी हुन आग्रह गरेको छ।
तस्बिर : फाईल
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्