नुवाकोट,जेठ २३ – नेपाल प्रेस युनियनका नेता तथा नुवाकोटका चर्चित पत्रकार शिव देवकोटाले आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचनमा बेलकोटगढी नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
शनिबार नुवाकोट पुकारसँगको छोटो कुराकानीमा देवकोटाले आफू अब सक्रिय पत्रकारिता र प्रेस युनियनको जिम्मेवारीबाट पार्टी राजनीतिमा पूर्ण रूपमा होमिएको बताउँदै मेयर पदमा उम्मेदवार बन्ने उद्घोष गरेका हुन्।
उनले भने, “मेरा धेरै सहयात्री साथीहरू पार्टी राजनीतिमा स्थापित भइसक्नुभएको छ। म पनि उहाँहरू सरहकै राजनीतिक पृष्ठभूमिबाट आएको व्यक्ति हुँ। मैले मेयर बन्छु भन्दा अस्वाभाविक मान्नुपर्ने कुनै कारण छैन।”
देवकोटाले नेपाली कांग्रेसका सभापति गगन थापासँग आफूले एकै समयदेखि राजनीतिमा सक्रियता थालेको दाबी समेत गरे।
बेलकोटगढी नगरपालिका–९, जिलिङ निवासी देवकोटा २०४८ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीतिमा प्रवेश गरेका थिए। सोही वर्ष उनी नेविसंघ विदुर नगर कमिटी सदस्य बनेका थिए। त्यसपछि २०५३ सालमा नुवाकोट आदर्श बहुमुखी क्याम्पस, बट्टारको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्य बने।
पत्रकारिता र ट्रेड युनियन आन्दोलनमा समेत सक्रिय देवकोटा नेपाल प्रेस युनियन नुवाकोटका दुई कार्यकाल जिल्ला अध्यक्ष, नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटका दुई कार्यकाल अध्यक्ष, प्रेस युनियन केन्द्रीय सदस्य तथा युनियनको सचिव पदका उम्मेदवार भइसकेका छन्। साथै, २०८० सालमा उनी नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका थिए।
केही दिनअघि मात्रै प्रेस युनियनको केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा चले पनि पार्टीका साथीहरूको सुझाव र नेपाली कांग्रेसप्रतिको आफ्नो लगावका कारण पूर्ण रूपमा पार्टी राजनीतिमा सक्रिय हुने निर्णय गरेको देवकोटाले बताए।
नुवाकोटको दोस्रो ठूलो नगरपालिका बेलकोटगढी विगतमा नेपाली कांग्रेसको बलियो गढका रूपमा चिनिन्थ्यो। तर पछिल्ला वर्षहरूमा आन्तरिक विवाद र नेताहरूबीचको खिचातानीका कारण पार्टीको प्रभाव कमजोर बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा मेयर पद नेकपाले जितेको थियो भने उपमेयरसहित बहुमत वडा अध्यक्ष कांग्रेसबाट निर्वाचित भएका थिए।
आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसभित्र मेयर पदका लागि आकांक्षीहरूको संख्या बढ्दै गएको छ। हालका उपमेयर शिव दाहाल, पूर्व मेयर उम्मेदवार यादव नेपाल, महाधिवेशन प्रतिनिधि तथा युवा नेता जयराम दाहाल, दीपक लामा, श्याम ढुंगाना, पूर्ण गजुरेल, नगर सभापति लेखनाथ मुडवरी, रामचन्द्र तिमिल्सिना, विष्णुराज नेपाल, शुकदेव दाहाल लगायतका नेताहरूले पनि मेयर पदमा दाबी प्रस्तुत गर्दै आएका छन्।
यहीबीच पत्रकारिता क्षेत्रबाट राजनीति प्रवेश गरेका शिव देवकोटाको उम्मेदवारी घोषणाले बेलकोटगढीको कांग्रेस राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्