नुवाकोट पुकार समाचारदाता
बेलकोटगढी । बेलकोटगढी नगरपालिकाको उच्च स्थानमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चिम्टेश्वरगढी पुनःनिर्माण गर्ने क्रममा पुरानो गढीको संरचना भत्काइएको विषयमा विवाद उत्पन्न भएको छ। स्थानीयवासीले गढी भत्काउने कार्यप्रति आपत्ति जनाएपछि पुरातत्व विभागका प्राविधिकहरू काम रोक्दै स्थलबाट फर्किएका छन् , गढी भत्काइएको देखेपछि स्थानीयले प्राविधिकहरूसँग सोधपुछ गरेका थिए।
स्थानीयहरुको अवरोधपछि विभागका प्राविधिहरुले आवश्यक छलफल गरेर मात्रै काम गर्ने भन्दै ठेकेदारलाई काम रोक्न भन्दै फर्किएका थिए । उक्त विषयमा विभागका इन्जिनियर गोविन्द अधिकारीले नुवाकोट पुकारसँग भने, हामीले गढीको पूर्व स्वरुपको संकेत देखिएकाले त्यसलाई सामान्य भत्काएर जग हाल्ने र पछि पुरनो स्वरुपमा खडा गर्ने उदेश्यले काम अघि बढाएको थियौं । तर स्थानीयहरुले जग खन्दा ठुलो अपराध नै भएजस्तो गर्नुभयो, अनि हामीले काम स्थगित गर्न लगाएका हौं , रोकेका होइनौं, । विभागले सोमबार नगरपालिकाका मेयर,उपमेयर तथा वडा अध्यक्षसहित असन्तुष्ट स्थानीयहरुको उपस्थितिमा छलफल गरेर आउने निचोड अनुसार अघि बढ्ने प्रष्ट पारेको छ ।

चिम्टेश्वर क्षेत्र विकास समितिका अध्यक्ष तथा बेलकोटगढी २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिनाले यस विषयमा सबै जिम्मेवारी पुरातत्व विभागको रहेको बताएका छन्। उनले आफूहरूको भूमिका पुनःनिर्माण कार्य सहज बनाउन सहयोग गर्ने मात्र भएको स्पष्ट पारे ।गढी संरक्षणका लागि हाम्रो आग्रहमा नै विभागले बजेट विनियोजन गरेको हो,सोही अनुसार “काम होस् भनेर पहिलो पटक विभागका कर्मचारीलाई मैले नै स्थलमा ल्याएर देखाएको थिएँ। तर शुक्रबार गढी निर्माणका लागि केही ढुंगाहरु झिक्ने र जग खन्ने काम भएको रहेछ, यस विषयमा हामी बसेर छिटो निश्कर्षमा पुग्नेछौं ,” तिमल्सिनाले नुवाकोट पुकारसँग भने ।
उनका अनुसार विभागका प्राविधिकहरूले पुरानो संरचनाको आकार र स्वरूप संरक्षण गर्दै नयाँ संरचना निर्माण गर्नका लागि केही भाग भत्काउनुपरेको जानकारी दिएका छन । यस विषयमा थप स्पष्टता ल्याउन सोमबार नगरप्रमुख, उपप्रमुख, पुरातत्व विभागका कर्मचारी तथा सरोकारवालाबीच छलफल गर्ने सहमति भएको पनि वडा अध्यक्ष तिमिल्सनाले जानकारी दिए ।विभागले वडा कार्यलयमार्फत यसै आर्थिक वर्षमा सम्पन्न हुनेगरि १० लाखको ठेकका कोटेशनमार्फत काम अघि बढाएको छ ।

स्थानीयवासीले वन ऐन, २०४९ र प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को प्रावधानअनुसार ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण हुनुपर्नेमा जोड दिएका छन् । संरक्षणकै नाममा संरचना नष्ट गर्ने वा अतिक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिमाथि छानबिन गरी आवश्यक कारबाही गर्न समेत उनीहरूले माग गरेका छन्।स्थानीयहरुले भने पुरातत्व विभागल पुननिर्माणका नाममा े पुरानो संरचना भत्काउन नपाउने दावी गर्दै आएका छन् ।
चिम्टेश्वरगढी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल मानिन्छ । पृथ्वीनारायण शाहले पहिलोपटक नुवाकोट आक्रमण गर्दा असफल भएपछि गुरु गोखनाथको आज्ञाले यही पूजा अर्चना गरिसकेपछि नुवाकोटमा जित हासिल गरेका थिए । यहाँ पनि बडामहाराजधिराज पृथ्वीनारायण शाहले आफ्नो गढी बनाएका थिए भन्ने छ, त्यसको अवशेषका रूपमा सो स्थानम बंकर देख्न सकिन्छ । जसलाई चिम्टेश्वर विकास समितिको माग अनुसार नै विभागले त्यसको संरक्षणका लागि काम सुरु गरेको हो ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्