नुवाकोट, तादी । राजधानी काठमाडौंको गोंगबुस्थित विनायक अस्पताल तथा प्रसूति गृह प्रालिको आयोजनामा नुवाकोटको तादी गाउँपालिका–३, खरानीटारस्थित तादी भ्यु एकेडेमी परिसरमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
अस्पतालका कार्यकारी अध्यक्ष केपी लामिछानेका अनुसार शिविरमा तादी, पञ्चकन्या तथा दुप्चेश्वर क्षेत्रका ३६० जना स्थानीय बासिन्दाले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका छन्। शिविरमा रोग पहिचान गरी निःशुल्क औषधि वितरण समेत गरिएको थियो।
शिविरमा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. उषा श्रेष्ठ खाँड, हाडजोर्नी विशेषज्ञ डा. राजेश चौधरी, फिजिसियन डा. सुशील बराल, नाक–कान–घाँटी रोग विशेषज्ञ डा. राम लामा तामाङ, डा. मनोज शाहलगायत २५ जना स्वास्थ्यकर्मीको टोली सहभागी भएको थियो।
कार्यक्रमका आयोजक तादी भ्यु एकेडेमीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको स्वागत गर्दै कार्यक्रमकाे थप व्यवस्थापन गरेको थियो। सह–आयोजक भरत प्रसाद लामिछाने स्मृति प्रतिष्ठानले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजकले जनाएको छ। साथै स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।
१०० शय्या क्षमताको विनायक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा यस्ता सेवामुखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ अस्पतालले गरिब तथा असहाय नागरिकलाई सहुलियतपूर्ण उपचार सेवा समेत प्रदान गर्दै आएको जनाएको छ।
शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संस्था, चिकित्सक, स्वास्थ्यकर्मी, समाजसेवी तथा स्थानीयवासीप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।



नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्