काठमाडौं ।नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र फैलाइएका भ्रमपूर्ण हल्ला र अफवाहबाट प्रभावित नहुन नेता–कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
आइतबार जारी विज्ञप्तिमार्फत खड्काले सभापति गगनकुमार थापासँग आफ्नो कुनै पनि प्रकारको सम्पर्क वा संवाद नभएको ३१ दिन भएको स्पष्ट पार्नुभएको छ। पार्टीको एकताका लागि पछिल्ला दुई महिनादेखि इमानदार प्रयास गरे पनि अपेक्षित प्रगति हुन नसकेको उहाँको भनाइ छ।
खड्काले १५औँ महाधिवेशनलाई लक्षित गरी नवीकरण तथा नयाँ क्रियाशील सदस्यता लिएका सदस्यहरूलाई अध्यावधिकका नाममा विभिन्न दबाब दिइएको भन्ने जानकारी देशभरबाट प्राप्त भएको उल्लेख गर्दै यस प्रवृत्तिलाई पार्टी जीवनका लागि अत्यन्त घातक भएको बताउनुभएको छ।
उहाँले नवीकरण गरिएका तथा नयाँ क्रियाशील सदस्यता लिएका कसैलाई पनि अध्यावधिक नगरेको बहानामा महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नसकिने स्पष्ट पार्नुभएको छ। सबै क्रियाशील सदस्यले महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था सुनिश्चित गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ।
विज्ञप्तिमा नेताहरूको क्रियाशील सदस्यता अध्यावधिक केन्द्रले स्वतः गरिदिने भन्ने पछिल्ला दिनमा फैलाइएका प्रचारहरू भ्रम सिर्जना गर्ने उद्देश्यका हल्लामात्र भएको दाबी गर्दै यस्ता अफवाहप्रति सचेत रहन पार्टी पंक्तिलाई आग्रह गरिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्