केन्द्रीय समिति विस्तारप्रति डा. शेखर कोइरालाको असन्तुष्टि, “पार्टी एकतामा ठेस पुग्यो”

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २९, मंगलवार १३:११

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हालै गरिएको केन्द्रीय कार्यसमिति विस्तारप्रति असहमति जनाउँदै पार्टीको बृहत्तर एकतामा असर पुगेको टिप्पणी गर्नुभएको छ । उहाँले पार्टीभित्र गुट–उपगुटभन्दा माथि उठेर साझा भावना र सामूहिक नेतृत्वमार्फत अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. कोइरालाले कांग्रेसको समग्र एकताविनै राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकिने बताउनुभयो । विगतका निर्वाचन परिणामले पार्टीलाई गम्भीर आत्मसमीक्षाको आवश्यकता देखाएको उल्लेख गर्दै उहाँले कांग्रेसभित्रको विभाजनले आम नागरिकको भरोसा कमजोर बनाएको धारणा राख्नुभयो ।


उहाँले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई कांग्रेसका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै जनताको विश्वास जित्न नसके पार्टीको राष्ट्रिय औचित्यमाथि नै प्रश्न उठ्न सक्ने चेतावनी दिनुभयो । कांग्रेससँग आबद्ध युवा, संघर्षशील र त्यागी कार्यकर्ताको राजनीतिक भविष्य सुनिश्चित गर्न पार्टी भावनात्मक र राजनीतिक रूपमा एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।


डा. कोइरालाले संविधानवाद, लोकतन्त्र, मूल्य र सिद्धान्तमाथि चुनौती बढिरहेका बेला कांग्रेसभित्रकै गुटीय विभाजन चिन्ताजनक भएको उल्लेख गर्दै यसको शीघ्र अन्त्य आवश्यक रहेको बताउनुभयो ।


उहाँले वैशाख २८ गते नेपाली कांग्रेस केन्द्रीय समितिमा गरिएको १९ जना मनोनयनप्रति विशेष असन्तुष्टि व्यक्त गर्दै उक्त निर्णयले पार्टीको बृहत्तर एकताको भावनामा ठेस पुगेको टिप्पणी गर्नुभयो ।

साथै, १४औँ महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमै १५औँ महाधिवेशनलाई “एकता महाधिवेशन” का रूपमा सम्पन्न गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *