केन्द्रीय समिति विस्तारबारे पूर्णबहादुर खड्काको असन्तुष्टि

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २९, मंगलवार १६:२२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको हालै गरिएको केन्द्रीय कार्यसमिति विस्तारप्रति असन्तुष्टि जनाउँदै कांग्रेसलाई “बृहत् र सम्पूर्ण एकता”को दिशामा अघि बढाउन नेतृत्वलाई आग्रह गरेका छन्।


विशेष महाधिवेशनपछि गठन गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको विस्तारबारे विभिन्न सञ्चार माध्यममा आएका टिप्पणी, नेता–कार्यकर्तामाझ देखिएको जिज्ञासा तथा आफ्नो भूमिकाबारे उठेका प्रश्नपछि खड्काले सार्वजनिक रूपमा धारणा राखेका हुन्।


खड्काले केही हप्ता अघि महामन्त्री गगन थापा तथा पछि गगन थापा र विश्वप्रकाश शर्मासँग भएको भेटघाट तथा छलफलमा आफूले राष्ट्रियता, लोकतन्त्र र पार्टीको एकताबारे गम्भीर चिन्ता व्यक्त गरेको बताएका छन्। उनले वर्तमान परिस्थितिमा देशको राष्ट्रियता ऐतिहासिक जोखिममा रहेको, नेपाली कांग्रेस स्थापना यताकै सबैभन्दा चुनौतीपूर्ण अवस्थामा रहेको तथा पपुलिज्मका नाममा संविधानवाद र लोकतान्त्रिक मूल्य–मान्यतामाथि निरन्तर आक्रमण भइरहेको उल्लेख गरेका छन्।


उनले नेपाली कांग्रेस प्रभावकारी र सार्थक राष्ट्रिय शक्ति बन्न पार्टीको “बृहत् र सम्पूर्ण एकता” अपरिहार्य रहेको बताएका छन्। खड्काले पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी गगन थापा र विश्वप्रकाश शर्माको काँधमा रहेको उल्लेख गर्दै समय कम भएकाले अन्य सबै विषयभन्दा माथि राखेर एकताको अभियान अघि बढाउन आग्रह गरेका छन्।


खड्काले वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमितिको मनोनयन प्रक्रियामा आफूसँग कुनै छलफल वा परामर्श नभएको स्पष्ट पारेका छन्। उनले उक्त निर्णयले पार्टीको बृहत् एकताको उद्देश्यमा ठेस पुगेको धारणा राखेका छन्।


उनले विगतमा विभाजित कांग्रेसले ठूलो राजनीतिक क्षति बेहोरेको स्मरण गर्दै त्यसबाट पार्टीले जनविश्वाससमेत गुमाउन पुगेको उल्लेख गरेका छन्। त्यतिबेलाका नेतृत्व र पक्षधर सबैले आत्मसमीक्षा गरेर संगठनात्मक तथा भावनात्मक एकता कायम गर्दै पार्टीलाई पुनः एक बनाएको अनुभव अहिले पनि सान्दर्भिक रहेको खड्काको भनाइ छ।


फागुन २१ गते सम्पन्न आम निर्वाचनको परिणामले कांग्रेसलाई गम्भीर रूपमा झस्काएको उल्लेख गर्दै उनले त्यसबाट शिक्षा लिएर नयाँ सोच, साझा दृष्टिकोण र पूर्ण एकताको आधारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।


खड्काले अझै पनि पार्टी नेतृत्वले सामूहिक भावना र साझा विचारका आधारमा कांग्रेसलाई बृहत् एकताको दिशामा अघि बढाउने विश्वास व्यक्त गरेका छन्। उनले अन्त्यमा “जय नेपाल” लेख्दै पार्टीभित्र सहमति, सहकार्य र एकताको आवश्यकता पुनः दोहोर्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *