नुवाकोट — नुवाकोटको म्यागङ गाउँपालिका–४ म्यागङबेशीस्थित एक छहरामा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान करिब साढे १० बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
मृतक स्थानीय ४३ वर्षीय सोमनाथ तामाङ र ३६ वर्षीय सूर्यमान तामाङ रहेको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी बिक्रम लामाका अनुसार मृतकहरूको शरीरमा भरुवा बन्दुकको छर्राले लागेको जस्तो चोट देखिएको छ।
प्रहरीका अनुसार मृतकहरूको छातीसहित शरीरका विभिन्न भागमा छर्राको चोट देखिएकाले भरुवा बन्दुक प्रहार भएको आशंका गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट घटना मंगलबार राति नै भएको हुनसक्ने अनुमान गरिएको छ।
घटनास्थल दुर्गम र अप्ठेरो ठाउँमा रहेकाले प्रहरी टोली अपराह्न साढे ३ बजेतिर मात्र घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार शव लुकाइएको जस्तो अवस्थामा भेटिएको छ भने घटनास्थलमा मुचुल्का उठाउने तथा थप अनुसन्धानको काम भइरहेको छ।
घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्