शाकाको ह्याट्रिकमा फ्रान्स पराजित, इंग्ल्यान्ड विश्वकप २०२६ को तेस्रो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ३, आईतवार ०५:४३

काठमाडौं, साउन ०३ । बुकायो शाकाको ह्याट्रिक प्रेरित उत्कृष्ट प्रदर्शनमा फ्रान्सलाई ६–४ ले पराजित गर्दै इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गरेको छ।


मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। खेलको तेस्रो मिनेटमै डेक्लान राइसले गोल गर्दै अग्रता दिलाएका थिए भने १८औं मिनेटमा एजरि कोन्शाले हेडरमार्फत दोस्रो गोल थपे।


त्यसपछि बुकायो शाकाले ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै ४–० को बलियो अग्रता दिलाए।


दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्ने प्रयास गर्यो। कप्तान किलियन एमबाप्पेले ४८औं मिनेटमा पहिलो गोल फर्काए भने ब्राडली बारकोलाले ५४औं मिनेटमा गोल गर्दै अन्तर घटाए। ६६औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–३ को रोमाञ्चक अवस्थामा पुगेको थियो।


तर ८७औं मिनेटमा प्राप्त पेनाल्टीलाई शाकाले गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र इंग्ल्यान्डलाई पुनः दुई गोलको अग्रता दिलाए। इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि थप एक गोल गरे पनि त्यसको केहीबेरमै जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको ६–४ को जित सुनिश्चित गरे।


यस जितसँगै सन् १९६६ मा विश्वकपको उपाधि जितेपछि इंग्ल्यान्डले विश्वकप इतिहासकै उत्कृष्ट नतिजामध्ये एक हासिल गरेको छ। यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो स्थानमा सीमित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *