काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १५औं महाधिवेशनलाई लक्षित गर्दै सभापति शेरबहादुर देउवा निकट समूह प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारीमा जुटेको छ ।
पार्टीले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत प्रदेश केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेका बेला देउवा पक्षले आन्तरिक रणनीति र संगठन सुदृढीकरणका लागि छुट्टै भेला गर्न लागेको हो ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको समूहले सातै प्रदेशमा कार्यक्रम गर्ने तयारी गरिरहेको जनाएको छ । देउवा निकट नेता मीन विश्वकर्माले विचार समूहलाई एकताबद्ध राख्ने, महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउने तथा निष्क्रिय बनेका नेता–कार्यकर्तालाई पुनः सक्रिय बनाउने उद्देश्यले प्रदेश भेला आयोजना गर्न लागिएको बताए ।
उनका अनुसार वर्तमान राजनीतिक अवस्था, पार्टीको आगामी दिशा र संगठन सुदृढीकरणबारे पनि भेलामा छलफल हुनेछ ।
प्रदेशगत तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारीसमेत तोकिएको छ । कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेश प्रदेशमा आनन्दप्रसाद ढुंगाना, गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र डा. प्रकाशशरण महतले समन्वय गरिरहेका छन् ।
त्यस्तै, लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही तथा सुदूरपश्चिममा एनपी साउदलाई जिम्मेवारी दिइएको छ ।
देउवा समूहले प्रदेशस्तरीय भेलाको सुरुवात कोशी प्रदेशबाट गर्ने भएको छ । विराटनगरमा २९ वैशाखमा पहिलो भेला आयोजना गर्ने तयारी गरिएको नेता मीन विश्वकर्माले जानकारी दिए ।
सुदूरपश्चिम प्रदेशको भेला व्यवस्थापनबारे काठमाडौंमा प्रदेश सभापति वीरबहादुर बलायर, एनपी साउद र रमेश लेखकबीच छलफल भएको जनाइएको छ ।
गण्डकी प्रदेशमा पनि तयारी तीव्र पारिएको छ । पोखरामा आयोजना हुने छलफलमा पूर्व केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेश पदाधिकारी तथा पूर्व उम्मेदवारहरूलाई सहभागी गराइने तयारी गरिएको छ ।
यस्तै, बागमती प्रदेशस्तरीय भेला ३० वैशाखमा काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गर्ने तयारी गरिएको नेताहरूले बताएका छन् । भेलामा पार्टीभित्रको वर्तमान अवस्था, आगामी रणनीति तथा संगठन सुदृढीकरणबारे छलफल हुने जनाइएको छ ।
उता, नेपाली कांग्रेसले भने प्रशिक्षण प्रतिष्ठानमार्फत सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रित’ भेला सञ्चालन गरिरहेको छ । धनगढीबाट सुरु हुने कार्यक्रम क्रमशः कर्णाली, गण्डकी, बागमती, मधेश, कोशी र लुम्बिनी प्रदेशमा आयोजना गरिने कार्यतालिका सार्वजनिक गरिएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्