कांग्रेस विभाजनको बहसबीच नुवाकोट कांग्रेसका जनप्रतिनिधि संस्थापनको भेलामा, इतर पक्ष झन् दबाबमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ५, मंगलवार १८:५१


काठमाडौँ/धुलिखेल । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन, नियमित महाधिवेशन र पार्टीको भावी नेतृत्वलाई लिएर विभाजनको चर्चा चलिरहेका बेला बागमती प्रदेशस्तरीय जनप्रतिनिधि भेलामा नुवाकोटका अधिकांश कांग्रेस जनप्रतिनिधिको सहभागिताले जिल्लाको आन्तरिक शक्ति–सन्तुलनबारे नयाँ बहस सुरु भएको छ।


काभ्रेको धुलिखेलमा सोमबार र मंगलबार आयोजित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको छलफल कार्यक्रममा नुवाकोटका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा तहका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता देखिएको हो।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहित प्रदेश सांसद, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा कांग्रेसबाट निर्वाचित प्रमुख वा उपप्रमुखमध्ये एक जनालाई बोलाइएको थियो।


नुवाकोटबाट विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ कार्यव्यस्तताका कारण सहभागी हुन नसकेको बताइएको छ। तर लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठ, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहाल, तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ, तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी धधधध तथा सूर्यगढी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु बुढाथोकी सहभागी भएका थिए।


कांग्रेसभित्र यतिबेला संस्थापन र संस्थापनइतर समूहबीचको दूरी बढिरहेका बेला संस्थापन पक्षले आयोजना गरेको कार्यक्रममा इतर पक्षका शीर्ष नेताहरु भने अनुपस्थित रहे।, पूर्व प्रवक्ता डा. प्रकाशशरण महत तथा डा. शेखर कोइराला निकट समूहले कार्यक्रम बहिष्कार गरे पनि नुवाकोटका इतर पक्षका भनिएका केही जनप्रतिनिधिको सहभागिताले राजनीतिक संकेत फरक दिएको चर्चा सुरु भएको छ।साे कार्यक्रममा प्रदेशसभा सदस्य तथा नुवाकोट कांग्रेस सभापति रमेश महत सहभागी भए भने कार्यक्रममा कांग्रेस नुवाकोटका पूर्व जिल्ला सभापति जगदीश्वरनरसिह केसी सहित उनीपक्षीय सभापति लेखनाथ मुडबरी,केशव अर्याल सहभागी भएका छन् ।तादी सभापति नारायण पाण्डे पनि कार्यक्रममा सहभागी भएका थिए ।


विशेषगरी लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठ र तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। दुवैलाई जिल्लामा संस्थापनइतर धार नजिक मानिए पनि कार्यक्रममा सहभागिता जनाएपछि उनीहरू भविष्यमा खुला रूपमा इतर पक्षमै दृढ रहने सम्भावना कमजोर बन्दै गएको कांग्रेस वृत्तमा चर्चा हुन थालेको छ। तर जनप्रतिनिधिले दलत्याग गरे पद खारेज हुने संवैधानिक व्यवस्था रहेकाले पनि अहिलेकै अवस्थामा जनप्रतिनिधिले अर्को विकल्प खाेज्ने सम्भावना भने देखिदैन ।


तादीका अध्यक्ष तामाङ आगामी निर्वाचनमा पुनः गाउँपालिका अध्यक्ष बन्ने तयारीमा रहेको बताइन्छ। तर उनीसँग र उनकाे शैलीप्रति तादीमा कांग्रेसको ठुलाे जमात असन्तुष्ट रहेकाले टिकट नारायण पाण्डेले पाउने चर्चा छ । पाण्डे त्यहि भएर संगठनसँग दूरी बढाउने जोखिम नलिने अवस्थामा रहेकाे आँकलन गरिएको छ।

अर्कोतर्फ धुर्व श्रेष्ठ भने दुई कार्यकाल गाउँपालिका अध्यक्ष पूरा गर्दैछन्। दुई पटक क्षेत्रीय सभापति बनिसकेका उनी आगामी १५औँ महाधिवेशनमा संस्थापनइतरबाट जिल्ला सभापतिको दाबेदारका रूपमा हेरिँदै आएका छन्। शिवपुरीका गाेविन्द थपलिया पुन एक पटक दाेहाेरिने साेचमा छन् ।उनकाे पहिलो कार्यकाल विवादरहित रुपमा सकिदैछ । बेकाेटगढीका उपमेयर दााहाल पनि मेयरकाे लाागि तयारी गरिरहेका छन् ।उनकाे अवस्था पनि नराम्रो देखिदैन । तारकेश्वरका अधिकारी पनि फेरि टिकट लिने प्रयासमा छन् ।जसले गर्दा उनले संस्थापन पक्षसँग दुरी बढाउने सम्भावना देखिदैन । तारकेश्वरमा केशव अधिकारी पनि बलिया आकाँक्षी देखिएका छन् ।

तर संस्थापनको कार्यक्रममा हुने उपस्थितिले भविष्यको राजनीतिक समीकरण खुला राख्न खोजेको संकेतका रूपमा समेत व्याख्या गरिएको छ।


यद्यपि सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले भने कार्यक्रममा सहभागी भएनन्। सूर्यगढीमा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसबाट निर्वाचित भएकाले उपाध्यक्ष मञ्चु ढकाल कार्यक्रममा सहभागी भएकी हुन्।

नुवाकोटमा संस्थापनइतर पक्षको नेतृत्व पूर्व जिल्ला सभापति धुर्व अधिकारी र जिल्ला सचिव श्रीराम श्रेष्ठले गर्दै आएका छन्। उक्त समूहमा जिल्लाका चारवटै प्रदेश सभापति तथा एक दर्जनभन्दा बढी महाधिवेशन प्रतिनिधि सक्रिय रहेको बताइन्छ।


तर जिल्लामा संस्थापन पक्षका प्रभावशाली नेताहरु अर्जुननरसिंह केसी, बहादुरसिंह लामा र जगदीश्वरनरसिंह केसीको बलियो प्रभाव रहेका कारण इतर पक्षलाई नयाँ दल वा कांग्रेस भित्रै संगठनात्मक रूपमा निर्णायक शक्ति निर्माण गर्न सहज नहुने विश्लेषण भइरहेको छ।


यद्यपि पूर्व प्रवक्ता डा. प्रकाशशरण महतको आगामी भूमिकासँगै जिल्ला सभापति रमेश महत, शेखर कोइराला निकट समूह तथा नुवाकोटमा केसी–महत नेतृत्वको विकल्प खोजिरहेका युवा समूहको सक्रियताले आगामी महाधिवेशनसम्म जिल्लाको शक्ति समीकरण फेरिन सक्ने सम्भावना भने जीवित नै देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *