भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीको ५७ करोड ८५ लाखसम्मको सहयोग

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ३, शनिबार १५:१३

भोटेकोसी बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीको ५७ करोड ८५ लाखसम्मको सहयोग

काठमाडौं । अष्ट्रेलियामा रहेर नेपाली व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय शेष घले र उनकी श्रीमती जमुना घलेले आफ्नो संस्था एमआईटी ग्रुप फाउन्डेसनमार्फत भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाका लागि दीर्घकालीन सहयोग गर्ने भएका छन्।

घले दम्पतीको एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद् (एनसीआरसी)सँग समझदारी गर्दै बाढी प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म सहयोग गर्ने परियोजनाका लागि अधिकतम ५७ करोड ८५ लाख रुपैयाँ बजेट प्रतिबद्धता जनाएको हो।

समझदारीअनुसार प्रभावित बालबालिकाको अवस्थाअनुसार शिक्षा, खाना, आवास, कपडा, स्वास्थ्य उपचारलगायत आवश्यक आधारभूत आवश्यकता पूरा गर्न सहयोग गरिनेछ।

भोटेकोसी बाढीपछि बालबालिका र उनीहरूका परिवारले भोग्नुपरेको कठिनाइलाई ध्यानमा राख्दै घले दम्पतीले दीर्घकालीन रूपमा साथ दिने प्रतिबद्धता जनाएका हुन्। बाढीको पानी घटेपछि पनि बालबालिकाको जीवनमा परेको असर लामो समयसम्म रहन सक्ने भएकाले उनीहरूको शिक्षा र भविष्यलाई निरन्तरता दिन सहयोग आवश्यक रहेको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनका अनुसार यो सहयोग तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित बालबालिकालाई कक्षा १२ सम्म आवश्यक सहयोग उपलब्ध गराउने दीर्घकालीन कार्यक्रम हो।

घले दम्पतीले सहयोग आर्थिक प्रतिबद्धतामा मात्र सीमित नरहेको उल्लेख गर्दै बाढीका कारण बालबालिकाले भोगेको कठिनाइले उनीहरूको भविष्यका अवसर निर्धारण नगरोस् भन्ने उद्देश्य रहेको बताएका छन्।

फाउन्डेसनले प्रभावित बालबालिकालाई उनीहरू बिर्सिएका छैनन् भन्ने अनुभूति दिलाउँदै शिक्षा र आवश्यकतामा आगामी वर्षहरूमा समेत सहयोग जारी राख्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *