बेलकोटगढी, नुवाकोट। स्थानीय युवाहरूको खेलकुदप्रतिको रुचि र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बेलकोटगढी नगरपालिकामा रहेको लालीगुराँस युवा क्लबलाई विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।
एक विशेष कार्यक्रमका बीच लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य एवं समाजसेवी बाबुराम तामाङले आफ्नो व्यक्तिगत सहयोगमा क्लबका युवा खेलाडीहरूका लागि टी–सर्ट, जर्सी तथा फुटबललगायतका खेलकुद सामग्री प्रदान गरेका हुन्।
सामग्री हस्तान्तरण गर्दै समाजसेवी तामाङले स्थानीय युवाहरूको ऊर्जा र खेलप्रतिको लगावलाई प्रोत्साहन गर्न सहयोग गरिएको बताए। खेलकुदले युवाहरूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्नुका साथै अनुशासित र सकारात्मक दिशामा अघि बढ्न प्रेरणा दिने उनको भनाइ थियो।
उनले आगामी दिनमा पनि क्लब तथा युवा खेलाडीहरूलाई आवश्यक सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै क्लबलाई कुनै समस्या वा आवश्यकता परेमा निःसङ्कोच जानकारी गराउन आग्रह गरे।
खेलकुद सामग्री प्राप्त गरेपछि लालीगुराँस युवा क्लबका प्रतिनिधि तथा खेलाडीहरूले खुसी व्यक्त गर्दै सहयोगका लागि तामाङप्रति आभार व्यक्त गरेका छन्। प्राप्त सामग्रीले आगामी दिनमा सञ्चालन हुने खेलकुद गतिविधि तथा नियमित अभ्यासमा सहयोग पुग्ने क्लबका प्रतिनिधिहरूले बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्