काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान पूरा भएको छ। मधेस र वाग्मती प्रदेशबाट निर्वाचित हुने पदहरूको अन्तिम गणना सकिएसँगै असोज २३ गते रातिदेखि सुरु भएको मतगणना प्रक्रिया टुंगिएको हो।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार लुम्बिनी र गण्डकी प्रदेशसहित उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडिततर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूको गणना यसअघि नै सम्पन्न भएको थियो।
त्यस्तै, सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यका लागि खस–आर्य र थारू समूहको मतगणनासमेत राति नै सकिएको समितिले जनाएको छ। अहिले सबै पदको परिणाम रुजु गर्ने काम भइरहेको र रुजु सकिएपछि औपचारिक रूपमा नतिजा सार्वजनिक गरिने तयारी छ।
कांग्रेसले असोज २३ गते मतदान गरेको थियो। सोही रातिबाट सभापतिको मतगणना सुरु गरिएको थियो। राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। बाँकी पदको मतगणना भने त्यसपछि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो।
निर्वाचन समितिका अनुसार यसपटक ७ हजार ३९२ मतदाताले मतदान गरेका थिए। करिब १ लाख ६२ हजार मतपत्र गणना गर्नुपरे पनि करिब एक सातामै सम्पूर्ण गणना सम्पन्न भएको हो।
यसअघि १४औँ महाधिवेशनमा करिब ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। यसपटक करिब २५ वटा समूह बनाएर एकैसाथ मतगणना गरिएकाले अघिल्लो महाधिवेशनको तुलनामा दोब्बरभन्दा बढी छिटो गणना सम्पन्न भएको सदस्य–सचिव कटुवालको भनाइ छ।
कुल २२९ पदका लागि निर्वाचन भएको कांग्रेस महाधिवेशनमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो।
निर्वाचन समितिले मतदान र मतगणनाका क्रममा कुनै ठूलो विवाद नआएको तथा प्रक्रिया सौहार्दपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
नयाँ निर्वाचित पदाधिकारी तथा सदस्यहरूको प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैँलगत्तै गर्ने तयारी छ। त्यसपछि नयाँ कार्यसमितिको पहिलो बैठक बस्ने र सोही बैठकबाट आगामी स्थानीय तह निर्वाचनको तयारी तथा कार्ययोजनाबारे छलफल अघि बढाउने तयारी रहेको कांग्रेस नेताहरूले बताएका छन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्