काठमाडौं । चन्द्रागिरि नगरपालिका मा सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री र प्रभावकारी बनाउन थप सीसी क्यामेरा जडान गरिने भएको छ । यसका लागि नगरपालिका र नेपाल प्रहरी बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
बिहीबार सम्पन्न समझदारीअनुसार काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वार मानिने नागढुंगा देखि कलंकी सम्मको मुख्य सडक तथा वडा कार्यालय जाने विभिन्न मार्गमा सीसी क्यामेरा जडान गरिनेछ ।
समझदारीपत्रमा नगरप्रमुख घनश्याम गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की ले हस्ताक्षर गरेका हुन् ।
नगरप्रमुख गिरीले उपत्यकामा प्रवेश गर्ने प्रमुख नाका चन्द्रागिरि क्षेत्रमा पर्ने भएकाले यहाँको शान्ति सुरक्षा थप व्यवस्थित बनाउन प्रहरीसँग सहकार्य गरिएको बताए । सीसी क्यामेरा विस्तारले आपराधिक गतिविधि नियन्त्रणका साथै ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने उनको भनाइ छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले स्थानीय सरकार र नागरिकको सहकार्यबिना प्रभावकारी सुरक्षा सम्भव नहुने उल्लेख गर्दै नगरपालिकाले सुरक्षाका लागि गरेको लगानी प्रशंसनीय रहेको बताए । उनले प्रहरी प्रशासनबाट पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे ।
हाल चन्द्रागिरि नगरपालिकाभित्र करिब ४०० वटा सीसी क्यामेरा सञ्चालनमा रहेका छन् । नगरपालिकाले अब क्यामेराको संख्या बढाएर करिब एक हजार ५०० पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्