तारकेश्वरका सामुदायिक विद्यालयको एसईई नतिजा उत्साहजनक,नेपाल राष्ट्रिय माविले गरायाे ८६ प्रतिशत विद्यार्थी उत्रीर्ण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ८, शुक्रबार १७:०३
rarakeshower

– नुवाकोट पुकार समाचारदाता

काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था क्रमशः सुधारोन्मुख देखिएको छ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले सामुदायिक विद्यालयप्रति अभिभावक र समुदायको विश्वास थप बढाएको छ ।


नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट साधारणधारतर्फ ६७५ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ६०५ जना विद्यार्थी ग्रेडेड भएका छन् । सामुदायिक विद्यालयको कुल उत्तीर्ण प्रतिशत ८९.६३ रहेको छ । यसमध्ये ३ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् ।


यस्तै, संस्थागत विद्यालयतर्फ १ हजार ५७३ विद्यार्थी सहभागी भएकोमा १ हजार ५३२ जना ग्रेडेड भएका छन् । संस्थागत विद्यालयबाट ४४ जनाले ४ जीपीए प्राप्त गरेका छन् । समग्र नतिजालाई हेर्दा तारकेश्वर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयबीच गुणस्तरको दूरी धेरै कम भएको देखिन्छ । यसले नगरपालिकाले शिक्षामा गरेको लगानी र सुधार प्रयासको सकारात्मक प्रतिफल देखाएको छ ।


नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमध्ये चार विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् । त्यसमध्ये नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ले यस वर्ष उल्लेखनीय सुधार गर्दै ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफलता हासिल गरेको छ ।
विगतका वर्षमा अपेक्षाअनुसार नतिजा ल्याउन नसकेको विद्यालयले यस पटक भने नयाँ ऊर्जा र सुधारको स्पष्ट संकेत दिएको छ । विद्यालयको प्रशासनिक नेतृत्व गोविन्द तिमिल्सिना को काँधमा आएपछि विद्यालयको शैक्षिक तथा प्रशासनिक अवस्था उल्लेखनीय रूपमा सुधारिएको अभिभावकहरूको भनाइ छ ।


विद्यालयमा भौतिक पूर्वाधार व्यवस्थापन, विद्यार्थी अनुशासन, अतिरिक्त क्रियाकलाप तथा शैक्षिक गुणस्तर सुधारमा प्रधानाध्यापक तिमिल्सिनाले विशेष ध्यान दिएका कारण विगतको तुलनामा राम्रो नतिजा हासिल भएको अभिभावकहरूको बुझाइ छ ।

यस वर्ष विद्यालयबाट ७१ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकोमा ६१ जना ग्रेडेड भएका छन् । विद्यालयका एक विद्यार्थीले ३.९३ जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन् । प्रअ तिमिल्सिनाले विद्यालयले प्राप्त गरेकाे नतिजाप्रति खुशी व्यक्त गर्दै यसकाे श्रेय अहाेरात्र खटिने शिक्षक,मिहिनेती विद्यार्थी र अभिभावक भएको भन्दै बधाई दिनुभएको छ ।

उहाँले कक्षा ११ मा समेत नयाँ भन्ना खुला भएको जानकारी दिँदै प्लसटुमा समेत मध्यम वर्गीय विद्यार्थीलाई लक्षित गरि सर्वशुलभ मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गरिदै आएकाे जानकारी दिनुभयो । एन आर कलेजका रुपमा परिचित उक्त विद्यालय( कलेज) मा कक्षा ११ मा व्यवस्थापन संकाय ,मानविकी ,शिक्षासास्त्र र कानुन विषयमा अध्यापन गराउँदै आएकाे छ ।


सामुदायिक विद्यालयको अवस्था कमजोर बन्दै गएको चर्चा भइरहेका बेला तारकेश्वर नगरपालिकाका विद्यालयहरूले ल्याएको यस वर्षको नतिजाले सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षामा अब्बल बन्न सक्ने स्पष्ट सन्देश तारकेश्वरकाे नतिजाले दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *