
विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको संख्या ५० प्रतिशत घटाउनुपर्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन नुवाकोटलेआज केसी निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले निर्वाचन प्रणाली धेरै खर्चिलो भएको भन्दै यसमा परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो । उहाले भारतमा २२ लाख जनसंख्या बराबर एक जना सांसद रहेको भन्दै नेपालको राष्ट्यि परिस्थित अनुसार खर्च कटौती गरेर आर्थिक मितव्ययिता कायम गर्नका लागि सांसदहरुको संख्या घटाउन सुझाव दिनुभयो । नेता केसीले समानुपातिक निर्वाचन प्रणालीको पनि खारेज गर्नुपर्ने सुझाव दिनुभयो, उहाले भन्नुभयो, समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था खारेज गरौं, समानुपातिक प्रतिनिधित्व गर्नै पर्ने अवस्थामा निर्वाचनका माध्यमबाट गरौं । उहाले मुलुकको अवस्थामा राष्ट्यि राजनीतिक दलहरुबीच आपसी एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाले पार्टी विधानको पनि संशोधन गर्नुपर्नेमा जोड दिँदै सामुहिक पद्धतिको नाममा पार्टी सभापतिय पद्धति थापित भए त्यसको कुनै अर्थ नहुने उल्लेख गर्नुभयो ।
पत्रकारहरुसँग कुराकानी गर्दै नेता केसीले भन्नुभयो, हिजो गिरिजाबाबु हुँदा नै सामुहिक नेतृत्वको विरोध गर्दै आएको हुँ, अहिले पनि सामुहिक पद्धतिका नाममा सभापतिय पद्धति कायम हुन खोजेको छ, यसले कांग्रेसलाई फाइदा गर्दैन । उहाले कांग्रेसका क्रियाशिल सदस्यहरुले नै पार्टी चुन्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाले धेरै कुरामा भ्रम सिर्जना गर्ने काम भैरहेको भन्दै युवाहरुमा देखिएका निराशालाई कम गर्न लाग्नुपर्ने बताउनुभयो । नेता केसीले सरकारमा कांग्रेसको सहभागिता भएपनि जनताकाबीच कांग्रेसको उपस्थिति नदेखिएको आरोप लगाउनु भयो । उहाले परिस्थितिप्रति गम्भीर हुन दलहरु नसकेको भन्दै निराशालाई सम्बोधन गर्न नसके परिणाम गम्भीर आउन सक्ने चेतावनी दिनुभयो ।
नेता केसीले एनसेल बिक्रीका विषयमा ठुलो चलखेल भएको भन्दै राज्यशक्ति र राजनीतिक शक्तिको आडमा यसको किनबेच भएको दावी गर्नुभयो । उहाले भ्रष्टाचारका असिमित खाण्डलेसिंगो मुलुक विभुषित भएको आरोप पनि लगाउनु भयो । पूर्वमन्त्री केसीले प्रधानमन्त्रीलाई भ्रष्टाचार विरोधी अभियानलाई शक्तता दिन कसले रोकेको भनेर प्रश्न गर्दै भ्रष्टाचार नियन्त्रण नभए देश अस्थिरतातर्फ जाने बताउनुभयो । उहाले संविधानमा देखिएका त्रुटिहरुलाई सच्याउन कांग्रेसले नेतृत्व लिनुपर्नेमा पनि जोड दिनुभयो । उहाले कांग्रेस सरकारमा सहभागि भएपनि प्रभावकारी काम गर्न नसकेको गुनासो पनि गर्नुभयो ।