कल्याणीदेवी माविमा ‘कृतिम बौद्धिकता र साइबर सुरक्षा’ अभिमुखिकरण कार्यक्रम उद्घाटन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ ९, शनिबार १२:३९

जिलिङ् । नुवाकोटको बेलकाेटगढी नगरपालिका वडा नं ८ मा रहेकाे कल्याणीदेवी माध्यमिक विद्यालयमा ‘कृतिम बौद्धिकता (AI) र साइबर सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम’ उद्घाटन गरिएको छ । शिक्षा विकास निर्देशनालय, हेटौंडाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त कार्यक्रम २०८३ जेठ ९ गतेबाट सुरु गरिएको हो ।


विद्यालयका कक्षा ९ देखि १२ सम्म अध्ययनरत ७० जना विद्यार्थीहरूको सहभागितामा सञ्चालन हुने कार्यक्रम ६० घण्टा अर्थात् ४० वटा सेसनमा सञ्चालन गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा AI र साइबर सुरक्षा सम्बन्धी कार्यशाला, अन्तरक्रिया तथा कक्षाहरू सञ्चालन गरिनेछन् ।


कार्यक्रमका प्रमुख अतिथि वडा नं. ८ का अध्यक्ष सुरेशलाल चित्रकार रहेका थिए भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार पुडासैनीले सभापतित्व गरेका थिए । कार्यक्रममा प्रधानाध्यापक बुद्धिप्रसाद पुडासैनी, शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पुडासैनीलगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक बुद्धिप्रसाद पुडासैनीले सहभागी विद्यार्थीहरूलाई बिदाको दिनमा पनि नियमित रूपमा उपस्थित भई AI तथा साइबर सुरक्षासम्बन्धी ज्ञानलाई सिकाइसँग जोड्न आग्रह गरे । उनले आधुनिक प्रविधिको सुरक्षित प्रयोग आजको आवश्यकता भएकाले विद्यार्थीहरूले यसको सही उपयोग गर्नुपर्ने बताए ।


प्रमुख अतिथि सुरेशलाल चित्रकारले AI सम्बन्धी ज्ञानलाई व्यवहारिक शिक्षासँग जोड्न तथा साइबर सुरक्षाको महत्व बुझ्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । साथै, विद्यालयलाई यस्तो महत्वपूर्ण कार्यक्रमका लागि छनोट गरेकोमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयलाई धन्यवाद दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति श्यामकुमार पुडासैनीले कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रशिक्षक शिक्षक रामप्रसाद न्यौपानेलाई सेसन सुरु गर्न अनुमति दिँदै AI र साइबर सुरक्षाको ज्ञान विद्यार्थी मात्र नभई शिक्षक तथा अभिभावकसम्म पनि विस्तार गरिने बताए ।


विद्यालयका अनुसार आगामी सेसनहरूमा AI र साइबर सुरक्षासम्बन्धी विषयमा विभिन्न प्रशिक्षक तथा अधिवक्ताबाट थप प्रशिक्षण प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *