काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीभित्र आफ्नो शक्ति सुदृढ बनाउन सातै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने तयारीलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत बागमती प्रदेशस्तरीय भेला वैशाख ३० गते काठमाडौंमा आयोजना हुने भएको छ ।३० गते ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा आयाेजना हुने बताइएको छ ।
देउवा समूहले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक एकता, शक्ति प्रदर्शन तथा कार्यकर्ता परिचालनलाई केन्द्रमा राखेर प्रदेशस्तरीय कार्यक्रम अघि बढाएको जनाएको छ ।
देउवा निकट नेता पूर्णबहादुर खड्काको सचिवालयका अनुसार सातै प्रदेशमा भेलाको तयारी भइरहेको छ । नेता मीन विश्वकर्माले भेलाको मुख्य उद्देश्य पार्टी संगठनलाई सुदृढ बनाउनु, निष्क्रिय कार्यकर्तालाई पुनः सक्रिय बनाउनु र महाधिवेशनको तयारीलाई गति दिनु रहेको बताए ।
प्रदेशस्तरमा जिम्मेवारीसमेत बाँडफाँट गरिएको छ । कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेशमा आनन्दप्रसाद ढुंगाना, गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाशमान सिंह र डा. प्रकाशशरण महत, लुम्बिनीमा किशोरसिंह राठौर, कर्णालीमा जीवनबहादुर शाही तथा सुदूरपश्चिममा एनपी साउदलाई समन्वयको जिम्मा दिइएको छ ।
देउवा समूहले पहिलो भेला कोशी प्रदेशबाट सुरु गर्ने भएको छ । उक्त भेला वैशाख २९ गते विराटनगरमा आयोजना हुनेछ । त्यसपछि बागमती प्रदेशको भेला वैशाख ३० गते काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गर्ने तयारी गरिएको जनाइएको छ । अन्य प्रदेशमा पनि क्रमशः भेला आयोजना गरिने कार्यक्रम तय गरिएको छ ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्