काठमाडौं । विपक्षी दलहरूले सरकारले संसद र विपक्षी आवाजप्रति देखाएको व्यवहारलाई लिएर गम्भीर असन्तुष्टि जनाउँदै आगामी दिनमा संसदभित्र अझ सशक्त रूपमा प्रस्तुत हुने साझा निष्कर्ष निकालेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरूको संयुक्त बैठकले सरकारले संसदीय मूल्य–मान्यता विपरीत विपक्षी दलहरूको आवाज दबाउने र पेलेर अघि बढ्ने प्रवृत्ति देखाएको निष्कर्ष निकालेको हो ।
बैठकपछि एमाले प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्रीबाट संसदको निरन्तर उपेक्षा भइरहेको विषयमा गम्भीर छलफल भएको बताए । उनले सरकारले गैरलोकतान्त्रिक ढंगले अघि बढ्न खोजेको तथा सभामुखको भूमिका पनि दलीय जस्तो देखिएको विषयमा विपक्षी दलहरूबीच गहन छलफल भएको जानकारी दिए ।
“सरकारले संसदीय मूल्य–मान्यता विपरीत विपक्षीहरूको आवाजलाई दबाएर र पेलेर अघि बढ्ने दुस्साहस देखाएको छ,” महरले भने, “यसले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने खतरा बढाएको छ ।”
उनका अनुसार बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पूर्ण पालना तथा लोकतन्त्रको रक्षाका लागि विपक्षी दलहरूबीच सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने साझा निष्कर्ष निकालेको छ ।
बैठकमा कांग्रेसका बासना थापा, एमालेका ऐन महर, नेकपाका युवराज दुलाल तथा राप्रपाकी खुस्बु ओली सहभागी थिए ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्