रास्वपाले महाधिवेशन तयारी तीव्र, संगठन विस्तारदेखि प्रतिनिधि छनोटसम्म कार्यतालिका सार्वजनिक

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ जेष्ठ १०, आईतवार १७:२२

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी ले पहिलो राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै संगठनात्मक तथा निर्वाचनसम्बन्धी तयारीलाई व्यवस्थित बनाउन विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।

पार्टीले जिल्ला, प्रदेश र केन्द्रीय तहका गतिविधिलाई समयसीमाभित्र सम्पन्न गर्ने गरी योजना अघि सारेको जनाएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्ययोजनाअनुसार महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुनेछ। सोही महाधिवेशनलाई सफल बनाउन देशभरका संरचनामा निर्वाचन संयन्त्र निर्माणदेखि प्रतिनिधि छनोटसम्मका काम चरणबद्ध रूपमा अघि बढाइने भएको हो।


निर्धारित तालिकाअनुसार ७७ जिल्लासहित सातै प्रदेशमा निर्वाचन समिति गठनको प्रक्रिया जेठ ७ गतेबाट सुरु भइसकेको छ भने जेठ १५ गतेभित्र सबै संरचनामा समिति गठन गरिसक्नुपर्ने उल्लेख गरिएको छ। आवश्यक निर्देशन, फारम तथा संगठनसम्बन्धी कागजात वितरणको काम पनि जेठ १० भित्र सक्न भनिएको छ।


त्यस्तै, स्थानीय तह र जिल्ला तहमा सम्पन्न अधिवेशनका प्रतिवेदन संकलन गर्ने जिम्मेवारी जेठ २० गतेसम्म पूरा गर्नुपर्नेछ। जिल्ला अधिवेशन तथा निर्वाचन प्रक्रियासम्बन्धी अन्तिम प्रतिवेदन भने जेठ ३० गतेभित्र केन्द्रीय तहमा बुझाउनुपर्ने समयसीमा तय गरिएको छ।


महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली जेठ २५ गतेसम्म तयार पारेर केन्द्रमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण असार ५ गतेभित्र अनिवार्य रूपमा बुझाइसक्न निर्देशन दिइएको छ।


पार्टीले यसपटक निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री बनाउने तयारीसमेत गरेको छ। इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोगको सम्भावना, त्यसको व्यवस्थापन र परीक्षणका लागि जेठ ७ देखि असार ५ गतेसम्म विशेष तयारी अवधि छुट्याइएको जनाइएको छ।


केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा हस्ताक्षरित सूचनामा प्रदेश समितिहरूलाई जिल्ला नेतृत्वसँग समन्वय गर्दै निर्धारित कार्यतालिकाअनुसार सम्पूर्ण तयारी प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *