विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले विदुर नगरपालिका–७ र १० स्थित १ नम्बर पुल क्षेत्रमा अनावश्यक भिड नगर्न तथा जोखिमपूर्ण गतिविधिबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।
पछिल्ला केही दिनयता नेपाल विद्युत प्राधिकरणको त्रिशूली जलविद्युत केन्द्रका लागि निर्माण गरिएको टनेलसहितको पुलबाट पानी ओभरफ्लो भएर नदीमा झर्ने दृश्य सामाजिक सञ्जालमा भाइरल बनेपछि त्यहाँ तस्वीर र भिडियो खिच्नेहरुको भिड बढ्न थालेको छ ।
प्रहरीका अनुसार वर्षायाम सुरु भइसकेकाले नदीमा अचानक पानीको बहाव बढ्ने, ओभरफ्लो हुने तथा बाढी आउने जोखिम रहेकाले नदीको बीच भागसम्म पुगेर फोटो तथा भिडियो खिच्ने कार्य जोखिमपूर्ण हुन सक्छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले सूचना जारी गर्दै जोखिमयुक्त स्थानमा नजान तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । प्रहरीले सामाजिक सञ्जालका लागि भिडियो तथा तस्वीर खिच्ने क्रममा आफ्नो सुरक्षालाई बेवास्ता नगर्न समेत आग्रह गरेको छ ।
स्थानीयवासीले पनि पछिल्ला दिनमा उक्त क्षेत्रमा भीड बढ्दै गएको र समयमै सतर्कता नअपनाइए दुर्घटना हुन सक्ने बताएका छन् ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्