काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ जेठ ११ गते बसेको बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल–चीन जोड्ने चिलिमे–केरूङ विद्युत प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (लेटर अफ रिप्लाइ) स्वीकृत गर्ने निर्णय गरेको छ । उक्त आयोजना नेपाल र चीनबीचको ऊर्जा पूर्वाधार विस्तारका लागि महत्त्वपूर्ण मानिएको छ ।
त्यसैगरी, कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । सरकारले मोटा धानको प्रति क्वीन्टल ३ हजार ६६० रुपैयाँ तथा मध्यम धानको प्रति क्वीन्टल ३ हजार ८६० रुपैयाँ समर्थन मूल्य तोकेको हो ।
बैठकले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत गठित सहकारीमा भएको वेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोल लाई नियुक्त गर्ने निर्णय गरिएको छ
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्