काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अच्युतम लामिछानेले देशको समुन्नत विकासका लागि कृषि क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन् ।
व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै सांसद लामिछानेले कृषि उत्पादन बढाउन र किसानलाई सहज वातावरण सिर्जना गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने धारणा राखे । उनले कृषि तथा खाद्यान्न बोक्ने सवारी साधनमा शून्य सवारी करको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले कृषकहरूलाई सवारी साधन चलाउन सहज बनाउन पायक पर्ने स्थानमा ड्राइभिङ ट्रेनिङ सेन्टर स्थापना गर्न पनि आग्रह गरे । ग्रामीण क्षेत्रका किसानले सवारी साधन सञ्चालनसम्बन्धी तालिम नपाउँदा कृषि उत्पादन बजारसम्म पुर्याउन कठिनाइ भइरहेको उनको भनाइ थियो ।
सांसद लामिछानेले नुवाकोट जिल्लाको पुरानो राजमार्ग पासाङ ल्हामु मार्गको स्तरोन्नतिका लागि सरकारले आगामी बजेटमा आवश्यक रकम विनियोजन गर्नेमा आफू विश्वस्त रहेको बताए ।
उनले कृषि, यातायात र पूर्वाधार विकासलाई एकसाथ अघि बढाउन सके मात्रै ग्रामीण अर्थतन्त्र मजबुत बन्ने उल्लेख गरे ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्