काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक र देखिने गरी सुधार गर्न आफू नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा सदस्य राष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान समयको गम्भीरता र सरकारलाई प्राप्त जिम्मेवारीप्रति आफूहरू पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको बताउँदै नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पार्नुभयो।
उहाँले “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन” भन्दै लोकतान्त्रिक मूल्यमान्यता, राजनीतिक स्थिरता र अनुमानयोग्य नीतिगत वातावरण सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो।
प्रधानमन्त्री शाहले समावेशी आर्थिक वृद्धि, सुशासन र जनताका लागि नयाँ अवसर सिर्जना गर्ने दिशामा सरकार अघि बढिरहेको बताउनुभयो। विश्व बजारबाट लाभ लिन, विदेशी लगानी आकर्षित गर्न, प्रक्रियालाई सहज बनाउन, नवप्रवर्तनलाई प्रोत्साहन गर्न तथा दिगो विकास हासिल गर्न सरकार सक्रिय रहेको उहाँको भनाइ थियो।
उहाँले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीति अवलम्बनलाई निरन्तरता दिने उल्लेख गर्दै छिमेकी राष्ट्र, विकास साझेदार तथा मित्रराष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका आधारमा अघि बढ्ने बताउनुभयो।
प्रधानमन्त्री शाहले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटनलगायत क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ सुदृढ बनाउन नेपाल इच्छुक रहेको स्पष्ट पार्नुभयो। साथै नेपालको विकास र समृद्धिमा सहयोग पुर्याउँदै आएका विकास साझेदार र मित्रराष्ट्रप्रति आभार व्यक्त गर्नुभयो।
विश्वका विभिन्न भूभागमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।
भेटमा सहभागी युरोपियन युनियन तथा अन्य मुलुकका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै सुशासन, आर्थिक विकास र समृद्धिको एजेन्डासहित सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए। साथै नेपालसँग विभिन्न क्षेत्रमा सहकार्य र लगानी विस्तार गर्न आफूहरू तयार रहेको बताएका थिए।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्