नुवाकोट । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा नुवाकोटकी सदिक्षा भण्डारी प्रथम भएसँगै श्री जनज्ञान निकेतन माध्यमिक विद्यालयलाई अर्को महत्वपूर्ण सफलता थपिएको छ ।
“गणतन्त्र स्थापनाको १८ वर्ष : कार्यान्वयन र चुनौती” विषयक माध्यमिक विद्यालय तह (कक्षा ९–१२) स्तरीय प्रतियोगितामा विद्यालयकी छात्रा सदिक्षा भण्डारीले प्रथम स्थान हासिल गर्दै सामुदायिक विद्यालयका विद्यार्थी पनि प्रतिभा, मेहनत र सिर्जनशीलतामा कुनै हिसाबले पछि नरहेको सशक्त सन्देश दिएकी छन् ।
शिक्षा विकास निर्देशनालय, हेटौँडाले सार्वजनिक गरेको नतिजाअनुसार प्रतियोगितामा रामेछापकी रिस्ता कार्की द्वितीय तथा सिन्धुलीका निराकार सिंदेल तृतीय भएका छन् । काठमाडौंका अनुश्री मिश्र र आयुष घिमिरेले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा बागमती प्रदेशभरबाट १६१ जना विद्यार्थी सहभागी भएका थिए ।
विद्यालय परिवारले सदिक्षाको यस उपलब्धिप्रति हार्दिक बधाई व्यक्त गर्दै उनको प्रखर चिन्तन, उत्कृष्ट लेखन क्षमता र साहित्यिक प्रतिभाले विद्यालयको गौरव अझ उच्च बनाएको जनाएको छ । साथै यस सफलताले सामुदायिक विद्यालयप्रति समाजमा रहेको सकारात्मक विश्वासलाई थप बल पुगेको विद्यालयको भनाइ छ ।
निर्देशनालयका अनुसार विजेतालाई १८औँ गणतन्त्र दिवस मूल समारोह कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रम जेठ १५ गते बिहान ८ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजना हुने जनाइएको छ ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्