काठमाडौं । राजधानीको टोखा नगरपालिका–८, गोंगबु बानियाँटारस्थित संस्थागत विद्यालय प्यारामाउन्ट एकेडेमी तथा पीए कलेजले एसईई २०८२ मा शतप्रतिशत नतिजासहित उत्कृष्ट सफलता हासिल गरेको छ । विद्यालयले शुक्रबार आयोजित एसइई ग्राजुएशन २०८२” कार्यक्रममार्फत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान तथा दीक्षित गरेको छ ।
विद्यालयले दिएको जानकारी अनुसार एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये समिक्षा राउतले ४.० जीपीए प्राप्त गरेकी थिइन । यस्तै ८ जनाले ए प्लस, १६ जनाले ए, ११ जनाले बी प्लस तथा १ जनाले बी ग्रेड हासिल गरेका छन् । विद्यालयले यसलाई मेहनत, अनुशासन र गुणस्तरीय शिक्षाको परिणाम भएको जनाएको छ । विद्यालयबाट ३६ जनाले एसइई दिएको जनाएको छ ।

शुक्रबार (१५ जेठ) विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगदीश्वरनरसिंह केसीले ४ जीपीए ल्याउने समिलाई विशेष बधाई दिँदै विद्यालयको तर्फबाट ५० हजार रुपैयाँ बराबरको ल्यापटपसहित सम्मान गर्नुभयो । उहाँले समिक्षालाई आफूल कक्षादेखिनै अत्यन्त चलाख रहेको पाउको स्मरण गर्दै आफूले त्यतिबेलै भविष्यमा अझ ठूलो सफलता हासिल गर्ने बताएको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि केसीले कक्षा ११ अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि प्यारामाउन्ट कलेजले सहुलियतपूर्ण अध्ययनको सुविधा उपलब्ध गराउने घोषणा समेत गर्नुभयो । साथै अन्य विद्यालयबाट राम्रो विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि भविष्यमा सफल बनेर अघि बढ्न शुभकामना दिनुभयो । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य मुकुन्द प्रसाद पाण्डेले प्यारामाउन्टमा अध्ययन गर्ने विद्यार्थीहरूले एसईई होस् वा आधारभूत तह, सधैं उत्कृष्ट नतिजा ल्याउँदै आएको उल्लेख गर्नुभयो । उहाँले विद्यालयको सफलतामा शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त मेहनत रहेको बताउँदै सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने अन्य विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा कक्षा १० अध्यापन गराउने शिक्षकहरुलाई नगदसहित सम्मान गरिएको थियो भने अन्य शिक्षक तथा शिक्षिकाहरुलाई खादाकासाथ सम्मान गरिएको थियो । विद्यार्थीका अभिभावकहरूलाई पनि सम्मान गरिएको कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा सांस्कृतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिएका थिए ।

विद्यालयका निर्देशक प्रमोद पाण्डे, टोखा नगरपालिका वडा नं ८का सदस्य अनुप कुमार राई,विद्यालय अभिभावक संघकी अध्यक्ष गंगा घिमिरे ढकाल,काठमाडौं युरो स्कुलकी प्रिन्सिपल अनामिका पाण्डे, विद्यालय अभिभावक संघका अध्यक्ष, वडा सदस्य, नुवाकोट पुकारका सम्पादक शुकदेव दाहाल, शशांक साहित्यिक मासिकका सम्पादक उमेश पाण्डे, पत्रकार हरि भेटवाललगायत अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

टोखा नगरपालिकामा संस्थागततर्फ उत्कृष्ट विद्यालयको पहिचान बनाएको प्यारामाउन्ट एकेडेमीले सामाजिक उत्तरदायित्व निर्वाहसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता हासिल गर्दै आएको छ । पीजीदेखि कक्षा ११ सम्म करिब ७ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ ।
सो अवसरमा विद्यालय परिवारले सफल विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्