विदुर, नुवाकोट । नेकपा (एमाले) ले सञ्चालन गर्न लागेको ‘मिशन पार्टी जागरण’ अभियानअन्तर्गत नुवाकोट जिल्लाका पालिकाहरूमा नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ। एमाले सचिवालय बैठकको निर्णयपछि शुक्रबार सार्वजनिक गरिएको आन्तरिक परिपत्र (अपानी) मार्फत कार्यविभाजन सार्वजनिक गरिएको हो।
कार्यविभाजनअनुसार एमालेका नेता डा महेन्द्र पाण्डेलाई विदुर नगरपालिका, शिवपुरी गाउँपालिका र लिखु गाउँपालिकाको जिम्मेवारी दिइएको छ। त्यसैगरी केशव पाण्डेलाई बेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, सूर्यगढी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाको जिम्मेवारी तोकिएको छ।
त्यस्तै, बिन्दा ढुंगानालाई तादी, पञ्चकन्या र तारकेश्वर गाउँपालिकाको जिम्मेवारी प्रदान गरिएको छ भने नेतृ उषाकिरण तिमिल्सिनालाई म्यागङ र किस्पाङ गाउँपालिकाको जिम्मेवारी दिइएको जनाइएको छ।
एमालेको ‘मिशन पार्टी जागरण’ अभियानका लागि नुवाकोट जिल्ला संयोजकको जिम्मेवारी बिन्दा ढुंगानालाई दिइएको छ। यस्तै, जिल्ला सहसंयोजकमा केशव पाण्डेलाई तोकिएको छ।
यस विषयमा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले आफू जिल्ला अध्यक्ष भएकाले अभियानमा छुट्टै जिम्मेवारी नतोकिएको बताए।
एमालेले संगठन सुदृढीकरण, पार्टी गतिविधिलाई जनस्तरसम्म विस्तार तथा कार्यकर्तालाई सक्रिय बनाउने उद्देश्यसहित ‘मिशन पार्टी जागरण’ अभियान सञ्चालन गर्न लागेको जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्