काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक सक्रिय न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशभर मौसम बदली भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मधेश, बागमती, गण्डकीसहित कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ ।
हाल कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । साथै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । अन्य प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाको भनाइ छ ।
यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहनेछ । ती प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्