काठमाडौं । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले सार्वजनिक पदमा नियुक्ति गराइदिने वा आगामी स्थानीय तह निर्वाचनमा टिकट दिलाइदिने भन्दै हुने बिचौलियापनप्रति सचेत रहन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दुई प्रकारका आश्वासन नपत्याउन सर्वसाधारण तथा पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका हुन् ।
महामन्त्री बुर्लाकोटीले सार्वजनिक पदहरूमा पार्टी नेतासँग भनसुन गरेर नियुक्ति दिलाइदिन्छु भन्ने व्यक्तिहरूप्रति विश्वास नगर्न आग्रह गरेका छन् । त्यस्तै, आगामी स्थानीय तह निर्वाचनमा टिकट दिलाइदिन्छु भन्ने दाबी गर्नेहरूबाट पनि सतर्क रहन उनले बताएका छन् ।
उनले यस्तो गतिविधि पार्टीको नीति विपरीत रहेको स्पष्ट पार्दै कुनै पनि प्रकारको बिचौलियापनलाई राष्ट्रिय स्वतन्त्र पार्टी ले प्रवर्द्धन नगर्ने उल्लेख गरेका छन् ।
“यस प्रकारको बिचौलियापन पार्टीले प्रवर्द्धन गर्दैन र यो पार्टी नीति विपरीत हो,” उनले फेसबुकमा लेखेका छन् ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्