नुवाकोट, २९ वैशाख “नेपालका असल मित्रहरू” संस्थाले आफ्नो जि.एफ.एन. परोपकारी परियोजना २०८२/०८३ अन्तर्गत किस्पाङ गाउँपालिका वडा नं. ५ को पुरानो गाउँ र अर्चले क्षेत्रमा रहेका विपन्न परिवारलाई सहयोग कार्यक्रम सञ्चालन गरेको छ।
संस्थाले आर्थिक आयस्रोत तथा जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले २० विपन्न परिवारका महिला दिदीबहिनीहरूलाई जनही एक/एक वटा बाख्रा वितरण गरेको सस्थाकानिर्देश डा भीमलाल तामाङले जानकारी दिनुभयो ।
त्यसैगरी, अर्चलेस्थित श्री त्रिभुवन माध्यमिक विद्यालय र पुरानो गाउँस्थित श्री भुमेदरवी आधारभूत विद्यालयमा अध्ययनरत २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। कार्यक्रममा १३ जना एकल तथा विधुवा ज्येष्ठ आमाहरूलाई आर्थिक सहयोग गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको थियो। अवसरमा दुवै विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई विद्यालय लेखन सामग्री तथा खेलकुद सामग्री समेत वितरण गरिएको संस्थाले जनाएको छ।
कार्यक्रममा किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुन प्रसाद न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष प्रकाश तामाङ, पालिका पशुसेवा विभाग प्रमुख श्रीकृष्ण बजगाई, वडा नं. ३ का वडा सदस्य दुधराम तामाङ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
संस्थाले कार्यक्रम सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने स्थानीय प्रतिनिधि बमबहादुर (मिलन एस वाइबा) तामाङ र उहाँको समूहसहित सहयोग गर्ने सम्पूर्ण स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्