विद्यालयलाई दिँदै आएको हिउँदे र वर्षे बिदामा कटौती 

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २९, मंगलवार १९:२६

भक्तपुर । शिक्षा तथा मानव स्रोत बिकास केन्द्र सानोठिमीले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयपछि विद्यालयलाई दिँदै आएको हिउँदे र वर्षे बिदामा कटौती गरिएको जनाएको छ ।

केन्द्रका अनुसार हिउँदे र वर्षे बिदाको साबिकको ४५ दिनलाई ३० दिन कायम गरिएको छ ।

सोमबारदेखि शुक्रवारसम्म पुरा समय पठनपाठनसँग सम्बन्धित क्रियाकलाप गर्न केन्द्रका निर्देशक डा.श्याम प्रसाद आचार्यद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत सबै शिक्षा बिकास तथा समन्वय इकाई, स्थानीय तह र विद्यालयलाई अनुरोध गरिएको छ ।

प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट व्यवस्थापन गर्न केन्द्रले सकुर्लर जारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको हिजोको निर्णय अनुसार शैक्षिक संस्थाहरूले पठनपाठनमा स्वीकृत पाठ्यक्रमले तोकअनुसारको कार्य घण्टा मिलानका लागि यो व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।

पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्याङ्कनलाई पठनपाठन भएकै दिन वा पठनपाठनमा असर नपर्ने दिनमा गर्ने गरी व्यवस्थापन गर्न केन्द्रले भनेको छ ।

विज्ञप्तिमा अन्तिम परीक्षा तथा नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिमका १२ दिनलाई उपयोग गर्न सकिने उल्लेख गरिएको छ ।

स्वीकृत पाठ्यक्रम एवम् निर्धारण गरिएका सिकाई उपलब्धिका आधारमा सिकाई व्यवस्थापन गर्न साप्ताहिक रुपमा समुदाय एवम् परिवारका क्रियाकलाप ,सन्दर्भ सामग्री तथा सूचना प्रविधिको उपयोगसँग सम्बन्धित बहुबिषयमा आधारित परियोजना तथा प्रयोगात्मक कार्य शुक्रबार दिने र आवश्यक अनुसार प्रस्तुति गर्ने अवसर प्रदान गर्न पनि अनुरोध गरेको छ ।

मन्त्रिपरिषद् बैठकले २०८२ चैत २२ गते शैक्षिक संस्थाहरूमा हप्तामा २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेबाट तोकिएको पाठ्यक्रमको पठनपाठन पुरा नहुने भएपछि १५ दिन बिदा कटौती गरिएको केन्द्रले जनाएको छ ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *