ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयको प्रेरणादायी सफलता : महामाया माविद्वारा एसईईमा शतप्रतिशत नतिजा निकाल्न सफल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख २९, मंगलवार २०:४५

किशोर वली
नुवाकोट ।(बेलकाेटगढी) सिमित स्रोत, अभावका बीच पनि दृढ इच्छाशक्ति, मेहनत र सामूहिक प्रयास भए सफलता सम्भव छ भन्ने उदाहरण नुवाकोटको महामाया माध्यमिक विद्यालय, बेलकोटगढी–९ ले प्रस्तुत गरेको छ ।
ग्रामीण भूगोलमा अवस्थित विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी सबै १४ जना विद्यार्थीलाई सफल गराउँदै शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको हो । विद्यालयको यस उल्लेखनीय उपलब्धिले स्थानीय समुदायमा खुसीको वातावरण सिर्जना गरेको छ ।


शिक्षामा सीमित स्रोत र साधन हुँदाहुँदै पनि विद्यालयले अनुशासित शैक्षिक वातावरण, शिक्षकहरूको निरन्तर मेहनत तथा अभिभावकको सहयोगमार्फत उत्कृष्ट नतिजा हासिल गरेको विद्यालय परिवारको भनाइ छ । विशेषगरी विद्यार्थीहरूको लगनशीलता, नियमित अध्ययन र शिक्षकहरूको अथक परिश्रम यस सफलताको मुख्य आधार बनेको बताइएको छ ।


विद्यालयले ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा सम्भव छ भन्ने सन्देशसमेत दिएको छ । यस सफलताले आगामी दिनमा विद्यालयप्रति विद्यार्थी र अभिभावकको विश्वास अझ मजबुत बन्ने अपेक्षा गरिएको छ ।


विद्यालय प्रशासनले यस उपलब्धिलाई सम्पूर्ण शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको साझा सफलता भएको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


एसईईमा उत्कृष्ट सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थी नानीबाबुहरु, समर्पित शिक्षक–शिक्षिका तथा सहयोगी अभिभावकप्रति हार्दिक बधाई व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *