सुर्यगढी गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका घर भत्काउने हल्ला निराधार

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख ३०, बुधबार १७:५३

नुवाकोट — सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्त बहादुर घलेले सार्वजनिक जग्गामा बनेका घरटहरा तत्काल डोजर लगाएर भत्काइने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेका छन्।


गाउँपालिकाको बैठकपछि सामाजिक सञ्जाल तथा चिया पसलहरूमा “सार्वजनिक जग्गामा बनेका सबै घर गाउँपालिकाले भत्काउन सुरु गर्ने” भन्ने अफवाह फैलिएको भन्दै अध्यक्ष घलेले सर्वसाधारणलाई भ्रममा नपर्न आग्रह गरेका हुन्।


उनले गाँस, बास र कपास मानव जीवनको पहिलो आवश्यकता भएकाले बस्ती र आवासजस्तो संवेदनशील विषयमा हतारमा निर्णय नहुने बताए। हाल नेपाल सरकारले सार्वजनिक जग्गासम्बन्धी विवरण संकलन तथा व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको र सोहीअनुसार गृह मन्त्रालयको पत्रसहित जिल्ला प्रशासन कार्यालय नुवाकोट बाट गाउँपालिकालाई सार्वजनिक जग्गामा बनेका घरटहराको विवरण संकलन गरी पठाउन निर्देशन आएको जानकारी दिए।


अध्यक्ष घलेका अनुसार सूर्यगढी क्षेत्रमा विगतमा साविक गाविस तथा केही विद्यालयमार्फत रकम लिएर जग्गा वितरण गरिएका घटनासमेत रहेका कारण यो विषय जटिल प्रकृतिको छ। यसबारे आफूले प्रमुख जिल्ला अधिकारीसँग छलफल गरिसकेको र नुवाकोटका १२ वटै स्थानीय तहको संयुक्त बैठक बसेर फरक प्रकृतिका जग्गाको फरक ढंगले समाधान खोज्नुपर्ने धारणा राखेको बताए।


“घरबस्तीको विषय हावामा निर्णय हुने कुरा होइन,” अध्यक्ष घलेले भने, “कसैले सडकका चिया पसलमा गरेका हल्लाका आधारमा आतंकित नहुनुहोस्।”
उनले सार्वजनिक जग्गासम्बन्धी विषयमा सत्यतथ्य बुझेर मात्रै प्रतिक्रिया दिन र आधिकारिक सूचना बाहेकका अफवाहमा विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *