नेपाल इनभेष्टमेन्ट मेगा बैंकको प्रष्टिकरण – कानुन अनुसार धितो लिलाम गरिएको हो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ बैशाख ३१, बिहीबार ०८:५९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफूलाई कानुनले दिएको अधिकार अनुसार स्मार्ट टेलिकमको धितो लिलाम गरिएको प्रस्टीकरण दिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसहित केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सन्दर्भमा प्रतिक्रिया व्यक्त गर्दै बैंकले उक्त प्रस्टीकरण दिएको हो।

इन्भेष्टमेन्ट मेगा बैंकले बुधबार वक्तव्य जारी गर्दै बैंक तथा वित्तीय संस्था ऐन, २०७३ तथा सुरक्षित कारोबार ऐन, २०६३ ले दिएको अधिकार अनुसार कर्जा असुली प्रक्रियाअन्तर्गत स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री गरेको जनाएको छ।

निक्षेपकर्ताको रकम सुरक्षित गर्ने कानुनी दायित्व अनुसार उक्त प्रक्रिया अघि बढाइएको बैंकले स्पष्ट पारेको छ।

बैंकका अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण तथा सामग्री लिलामीका लागि २०८१ असोज ३ गते सूचना प्रकाशित गरिएको थियो।

उक्त लिलामीबाट प्राप्त करिब ४ अर्ब ६० करोड रूपैयाँमध्ये ४ अर्ब २२ करोड रूपैयाँ सहवित्तीयकरण कर्जा भुक्तानीमा प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ। बाँकी रहेको करिब ३८ करोड रूपैयाँ ुअर्नेस्ट मनी अक्सन एकाउन्टु मा राखिएको बैंकले जनाएको छ।

उक्त रकम दूरसञ्चार सेवासँग सम्बन्धित उपकरण जडान भएका घरजग्गा धनीहरूको बाँकी घरभाडा तथा विद्युत महसुल भुक्तानीका लागि छुट्याइएको बैंकको भनाइ छ। सम्बन्धित निकायबाट प्रमाणसहित माग आएपछि नियमानुसार भुक्तानी गरिने पनि बैंकले जनाएको छ।

बैंकले सम्पत्ति लिलामीसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानमा आवश्यक सहयोग गरिरहेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।

अनुसन्धान प्रयोजनका लागि माग गरिएका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

साथै, यो अनुसन्धान प्रक्रियाले बैंकको दैनिक कार्य सञ्चालन, वित्तीय सुशासन, निक्षेपकर्ताको हित तथा ग्राहक सेवामा कुनै असर नपर्ने बैंकले दाबी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *