नुवाकोट, वैशाख ३१ — नुवाकोटको किस्पाङ गाउँपालिका–१, किन्ताङबेसीमा दुई जनाको हत्या घटनामा संलग्न मुख्य अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले बिहीबार दिएकाे जानकारी अनुसार पुरानो रिसिइबीका कारण हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ ।
प्रहरीले घटनामा प्रयोग भएका हतियारसहित अभियुक्तहरू पक्राउ गरिएको जानकारी दिएको हो।
प्रहरीका अनुसार पुरानो रिसिइबीका कारण स्थानीय धनबहादुर तामाङले समराज तामाङ र सुर्यमान तामाङमाथि भरुवा बन्दुक प्रहार गरेका थिए। घटनापछि दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। हत्यापछि खाेलाकाे दुई ढुंगाकाे चेपमा लुकाएको अवस्था प्रहरीले शव फेला पारेकाे थियाे ।
घटना भएको सूचना पाएपछि अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो। खोल्सामा पानीभित्र लुकाइएको अवस्थामा दुवै शव फेला पारिएको प्रहरीले जनाएको छ। त्यसपछि कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि त्रिशूली अस्पताल पठाइएको थियो।
घटनामा संलग्न केही व्यक्तिलाई प्रारम्भिक चरणमै नियन्त्रणमा लिइए पनि मुख्य अभियुक्त फरार रहेका थिए। पछि जिल्ला प्रहरी कार्यालय नुवाकोट, धादिङ तथा अन्य सुरक्षा निकायको समन्वयमा खोजी अभियान सञ्चालन गरिएको थियो।
सोही क्रममा फरार रहेका धनबहादुर तामाङ र उनका भाइ सोमबहादुर तामाङलाई धादिङको खनियाबास गाउँपालिका–५ स्थित भिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको भरुवा बन्दुक, मोटरसाइकल तथा अन्य सामग्री समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
नुवाकोट पुकार

तपाईको प्रतिक्रिया दिनुहोस्